काठमाडौं- आसन्न एएफसी महिला एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु मैदान दशरथ रंगशालामा भदौ २४ र २७ गते बंगलादेशसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको जनाएको छ।
बंगलादेशको टोली भोलि बिहान साढे १० बजे काठमाडौं आइपुग्नेछ। नेपाल र बंगलादेशबीचको खेल हेर्न एन्फाले साधरणतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तोकेको छ।
मंगलबार मात्रै महिला टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले एसिया कप छनोटका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन्। जसमा सात नयाँ खेलाडीले सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
यसपटक प्रीति राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला विक र निशा थोकर गरी सात खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्। नेपाली टिम एसियन कपका लागि उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। नेपालले असोज २ गते फिलिपिन्ससँग खेल्दै छनोटको सुरुआत गर्नेछ।
यस्तै, नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
नेपाली टोली
गोलकिपर : अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, उषा नाथ
डिफेन्डर : अमृता जैसी, विमला विक, गीता राना, हिराकुमारी भुजेल, निशा थोकर, पुनम जर्घा मगर, सृजना सिंह, पूजा राना
मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, दीपा राई, ईन्दिरा राई, मन्जली तामाङ योन्जन, प्रीति राई, रेनुका नगरकोटे,
फरवार्ड : अनिता केसी, रजनी थोकर, रश्मी घिसिङ, सविता राना, सरु लिम्बू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।