काठमाडौं- एनएमबि बैंक सिङ्गापुरको एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड इन्भेष्टमेण्ट बैंकिङ अवार्ड श्रेणीअन्तर्गत 'ग्रीन डिल अफ द इयर २०२१’को उपाधिले सम्मानित भएको छ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)सँग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताका आधारमा एनएमबि बैंकलाई एसियन बैंकिङ एण्ड फाइनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङको क्षेत्रमा अग्रणि बैंकको रुपमा सम्मान गरेको बैंकले जनाएको छ। आईएफसीसँगको सम्झौताअन्तर्गत एनएमबिले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनाहरुमा कर्जा प्रवाह गर्दछ। एनएमबि बैंकले ग्रीन डिलअन्तर्गतको अवार्ड दिगो बैंकिङ र जलवायुमैत्री परियोजना र उद्यमशील गतिविधिहरुप्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरेबापत प्राप्त गरेको हो।
एनएमबि बैंक हाल कार्वन अकाउन्टिङ फाइनान्सियल समितिको एक सक्रिय सदस्य रहेको र २०१३ देखि ग्लोबल अलायन्स फर बैंकिङ अन भ्यालुजको सदस्यता प्राप्त वाणिज्य बैंकमध्येको एक मात्र बैंक रहेको छ।
बैंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकतासहित कागजको प्रयोगलाई न्यूनीकरण गर्दै सोबाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनका लागि अग्रसर रहेको छ। 'एनएमबि बैंक वातावरणमैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडि बढ्न थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं,' बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बताए।
बैंकले देशभरका १८१ शाखा, १३७ एटीएम, नौ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंक चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा 'बैंक अफ द इयर'ले सम्मानित भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।