काठमाडौं– गतसाता नेप्से परिसूचक करिब साढे ५ प्रतिशतले घटेको छ। अघिल्लो साता ३०९४.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.४० प्रतिशत घटेर २९२६.८९ विन्दुमा बन्द भएको हो।
गत साता सेन्सेटिभ इण्डेक्स पनि ५.१८ प्रतिशतले घटेको छ भने फ्लोट इण्डेक्स पनि ५.३१ प्रतिशतले ओरालो लागेको छ।
परिसूचकसँगै गत साता दैनिक औसत कारोबार रकम पनि घटेको छ। अघिल्लो साता दैनिक औसतमा १३ अर्ब ८७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा ११ अर्ब ९४ करोडको मात्र सेयर कारोबार भएको छ। यस साता ५ लाख पटकको कारोबारमा ४७ अर्ब ७६ करोड रुपैयाँ बराबरको ८ करोड ३२ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।
गतसाता नेप्सेको कुल बजार पूँजीकरण समेत करिब साढे ५ प्रतिशतले घटेको छ। अघिल्लो साता ४३ खर्ब २३ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण गतसाता ४० खर्ब ८९ अर्ब रुपैयाँमा झरेको छ।
गत साता १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ। गत साता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.४८ प्रतिशत बढेको छ।
सबैभन्दा बढी गुमाउनेमा गतसाता हाइड्रोपावर उपसमूह रहेको छ। हाइड्रोपावरको परिसूचक ९.३६ प्रतिशत घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।