विदुर- नुवाकोटमा जारी सर्वाधिक राशीको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि शनिबार ललितपुरको रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।
शनिबार हुने फाइनल खेलको लागि आफुहरु तयार रहेको नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा र थ्रीस्टारका क्लबका प्रशिक्षक मेघराज केसीले बताए।
नेपाल पुलिसका प्रशिक्षक थापाले नुवाकोटमा रहेको मैदान निकै राम्रो भएकोले खेलाडीहरुलाई खेल्न सहज भएको बताए। थ्रीस्टारका प्रशिक्षक केसीले पनि नुवाकोटमा फुटबलको वातावरण निकै राम्रो रहेको भन्दै आफूहरुले फाइनलमा उत्कृष्ट खेल खेल्ने बताए।
थ्रीस्टार क्वाटरफाइनलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३—२ गोल अन्तरले र सेमिफाइनलमा घरेलु टोली नुवाकोटलाई ४—१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेपाल पुलिस क्लब रुपन्देही ११ लाई ३—० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो भने पोखरालाई ट्राइबेकरमा ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो।
प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख रुपैयाँ र दोस्रो हुनेले ३ लाख रुपैयाँ नगदसहित ट्रफी पाउनेछन्। प्रतियोगिता जिल्ला खेलकुद विकास समिति नुवाकोट र नुवाकोट फुटबल संघले संयुक्त रुपमा आयोजना गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।