काठमाडौं- विवादमा आइरहने बलिउड अभिनेत्री हुन् कंगना रणावत। अहिले कंगनाका केही फिल्महरु प्रदर्शनको मिति तय भएर बसेका छन्। तीमध्ये सबैभन्दा नजिकको मिति तोकिएको फिल्मको, ‘थलाइवी’। १० सेप्टेम्बरमा यसलाई भारतका सिनेमा हलहरुमा प्रदर्शन गर्ने भनिएको छ।
तर, सिनेमा हलका सञ्चालकले भने कंगनाको फिल्मलाई बहिस्कार गर्ने संकेत देखिएको छ। गतवर्ष नै प्रदर्शन हुनुपर्ने फिल्म कोरोनाका कारण रोकिएको थियो। अहिले प्रदर्शनको मितिसँगै प्रचारप्रसार सबै भइसकेको फिल्मको प्रदर्शनलाई भारतका प्रमुख तीन सिनेमा हलको चेनका सञ्चालकहरुले रोकेका छन्। हल सञ्चालकहरुले कंगनाको विवादित व्यक्तित्वसँगै कोरोनाका कारण दर्शक नआउने आशंकाले फिल्मलाई प्रर्दशन गर्न मानिरहेका छैनन्।
फेरि अफ्ठ्यारोमा देखिएकी कंगनाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् हल सञ्चालकहरुलाई आफ्नो फिल्म प्रदर्शन गरिदिन अपिल गरेकी छिन्। उनले लेखेकी छिन्, ‘अहिले अरु कुनै फिल्म छैनन्। मेरो फिल्मको प्रोड्युसरले जोखिम मोलेर फिल्म प्रदर्शन गर्न खोजिरहनु भएको छ। यस्तो बेला तपाईंले हामीलाई सहयोग गर्नुपर्छ। हामीले आफ्नो फिल्मको लागत उठाउन पनि हलमा प्रदर्शन गर्नुपर्ने बाध्यता छ।’
थलाइवी पूर्वअभिनेत्री तथा भारतको तामिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमाथि बनेको बायोपिक फिल्म हो। फिल्मलाई हिन्दीसँगै तमिल भाषामा पनि प्रदर्शन गर्न लागिएको छ। यसमा कंगनासँगै अर्विन्द स्वामी, भाग्यश्रीलगायतको अभिनय छ। फिल्मलाई एएल बिजयले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।