काठमाडौं- आज दिउँसो एमालेसँग निर्णायक वार्ता गर्नुअघि माओवादी केन्द्रका दुई शीर्ष नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठबीच अहिले आन्तरिक छलफल चलिरहेको छ।
प्रचण्ड निवास लाजिम्पाटमा चलिरहेको छलफलमा दुई नेता मात्रै उपस्थित छन्। छलफलबाट एमालेसँग हुने सहमतिबारे ठोस एजेण्डा तयार पार्ने बताइएको छ।
दुई नेताको छलफलपछि आजै वार्ता समितिका अर्का सदस्य रामबहादुर थापा ‘बादल’ सहितको टोलीले एमालेसँग गर्ने सहमतिको अन्तिम मस्यौदा टुङ्गो लगाउने छ। दिउँसो एमालेसँग हुने वार्तापछि निर्वाचनमा कसरी तालमेल गर्ने, पार्टी एकीकरण गर्ने नगर्ने र भविष्यमा प्रधानमन्त्री लगायतका मुख्य पदहरुमा कसरी भागबण्डा मिलाउने भन्ने विषयमा अहिले दुई नेताबीच छलफल भइरहेको लाजिम्पाट स्रोतले बताएको छ। माओवादी केन्द्र प्रधानमन्त्री र राष्ट्रपतिको उम्मेदवार निर्वाचनअघि नै घोषणा गरेर जाने पक्षमा देखिएको छ। तर, एमाले भने थप छलफल गर्नुपर्ने पक्षमा रहेको छ।
यसअघि एमालेसँग भएको छलफलमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६०–४० को अनुपातमा भागबण्डा गर्ने सहमति भएको थियो। उक्त सहमतिलाई अन्तिम रुप दिई आजै घोषणा गर्ने तयारी भएको थियो। एमालेका अध्यक्ष केपी ओलीसहित पूर्व प्रधानामन्त्रीहरु झलनाथ र माधव नेपाल सम्मिलित वार्ता टोलीसँग सोमबार भएको छलफलमा यस्तो सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।