काठमाडौं- ऋषि कपुरको ६९औं जन्मदिनको अवसर पारेर उनको अन्तिम फिल्म ‘शर्माजी नमकिन’को फस्ट लुक सार्वजनिक भएको छ। उनकी छोरी रिधिमा कुपुरले बुबाको जन्मदिनको अवसरमा उनले अभिनय गरेको अन्तिम फिल्मको पोस्टर सार्वजनिक गरेकी हुन्।
विगत दुई वर्षदेखि क्यान्सरसँग जुँधिरहेका कपुरको गत वर्ष अप्रिलमा निधन भएको थियो। गत वर्ष कोभिडका कारण भएको लकडाउनले फिल्मको छायांकन बन्द भएकै समयमा मुख्य अभिनेता कपुरको निधन भएको हो। फिल्मको सुटिङ सकिनुअघि नै उनको निधन भएपछि कपुरको ठाउँमा अभिनेता परेश रावलले अभिनय गरेर सुटिङलाई फेरि सुरु गरिएको छ।
कपुरकी छोरी रिधिमाले कपुर र रावल रहेको दुई पोस्टर सार्वजनिक गरेकी छिन्। पोस्टरमा दुवै अभिनेता एउटै ड्रेसमा देखिएका छन्। हातमा ब्रिफकेश बोकेर अनुहारमा मुस्कानसहित हिँडिरहेका ऋषिलाई पोस्टरमा देख्न सकिन्छ।
फिल्ममा ऋषि र रावलसँगै जुहि चावला, सुहैल नैयर, सतिष कौशिकलगायतको अभिनय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।