काठमाडौं– हतियार चोरी गरेको अभियोगमा जेल सजाय सुनाइएका २ सैनिक निर्दोष ठहर भएका छन्। पुनरावेदन निवेदनमा फैसला सुनाउँदै सैनिक विशेष अदालतले अमल्दार लवकुमार गुरुङ र सिपाही सरोज तामाङ निर्दोष रहेको ठहर गरेको हो।
दुवै जनालाई निर्दोष ठहर गरिए पनि ३ वर्षका लागि पदोन्नति (बढुवा) भने रोक्का हुने फैसला सुनाइएको छ। दुवै जनाको हकमा २०७५ चैत १८ गतेबाट गणना हुने गरी ३ वर्षका लागि पदोन्नति रोक्का हुने र साबिककै दर्जामा सैनिक सेवामा पुनर्वहाली गर्ने गरी बिहीबार फैसला भएको सैनिक जनसम्पर्क तथा सूचना निर्दशनालयले जानकारी दिएको छ।
यसअघि उनीहरुलाई हतियार चोरी गरेको आरोपमा सैनिक अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको थियो। २ वर्ष अगाडि सैनिक अदालतले सुनाएको फैसलाविरुद्ध उनीहरुले २०७६ जेठमै सैनिक विशेष अदालतमा पुनरावेदनका लागि निवेदन दिएका थिए।
तर, उनीहरुको पुनरावेदन निवेदनमाथि सुनुवाइ हुन सकेको थिएन। अलम्दार गुरुङ र सिपाही तामाङले चोरी गरेको भनिएको सर्ट मेसिन गन (एसएमजी) गत साउनमा चितवनमा मृत फेला परेका सैनिक जवान भरत गुरुङको हत्यामा प्रयोग भएको पाइएपछि उनीहरु 'निर्दोष' रहेको विषय सतहमा आएको थियो।
सेनाको महेन्द्र दल गणमा कार्यरत हुद्दा भरत गुरुङको गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा गोली लागेको शव फेला परेको थियो।
भरत गुरुङको हत्या प्रकरणमा प्रहरीले सेनाकै जवान गंगाधर ढकाललाई पक्राउ गरेको थियो। २ वर्षदेखि जेलमा रहेका गुरुङ र तामाङले चोरी गरेको भनेको एसएमजी पक्राउ परेका ढकालले भरत गुरुङको हत्यामा प्रयोग गरेको स्वीकार गरेका थिए।
त्यसपछि छुट्टै समिति बनाएर सेनाले आन्तरिक छानबिन गरेको थियो। सेनाको छानबिनसँगै गुरुङ र तामाङको पक्षबाट दर्ता गरिएको पुनारावेदन निवेदनमाथि पनि सुनुवाइ शुरु गरिएको थियो।
सो क्रममा सैनिक विशेष अदालतले बिहीबार उनीहरुलाई निर्दोष सावित गर्दै जेल मुक्त गर्ने र साबिककै पदमा पुनर्वहाली हुने फैसला गरेको हो । सैनिक अदालतको फैसलापछि उनीहरु शुक्रबार चितवन कारागारबाट रिहा भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।