काठमाडौं- पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिगको नयाँ सिजन २०२१-२२ मा ७ नम्बरको जर्सी लगाउने भएका छन्। १२ वर्षपछि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका उनलाई ७ नम्बरको जर्सीनै दिन लागिएको हो।
यसअघि ७ नम्बरको जर्सी उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले लगाउने गर्थे। काभानीले अब २१ नम्बरको जर्सी लगाउने क्लबले जनाएको छ।
उनले राष्ट्रिय टिममा पनि २१ नम्बरकै जर्सी लगाउने गर्छन्। यसअघि रोनाल्डो इटालियन क्लब युभेन्टसबाट म्यानचेस्टर युनाइटेमा २ वर्षका लागि आबद्ध भएका थिए।
पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डो सन् २००९ मा युनाइटेडबाट स्पेनिस क्लब रियल मड्रिडमा आबद्ध भएका थिए।
उनले युनाइटेडका लागि २९२ खेल खेल्दै ११८ गोल गरेका थिए। उनी तीन वर्षअघि रियलबाट ९९.२ मिलियन पाउन्डमा युभेन्टसमा आबद्ध भएका थिए।
त्यतिबेला उनले चार वर्षका लागि सम्झौता गरेका थिए। युभेन्टसमा २०१८ देखि ९८ खेलमा ८१ गोल गरेका थिए। ३ सिजनमा उनले दुई पटक इटालियन सिरि ए जितेका छन्।
रियलमा रोनाल्डोले ९ सिजन बिताएका थिए। त्यसक्रममा उनले ४ पटक च्याम्पियन्स लिगको उपाधि जिताए।
रोनाल्डोले रियलबाट ४ सय ३८ खेलमा ४ सय ५० गोल गरे। रियलका लागि उनले च्याम्पियन्स लिगमा १ सय ५ गोल गरेर कीर्तिमानसमेत बनाए।
ला लिगमा भने उनले ३ सय ११ गोल गरे। रियलका लागि उनले १६ उपाधि जिते। जसमा २ ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि समावेश छन्।
उनले रियलका लागि ४४ ह्याट्रिक गरे। ३४ ह्याट्रिक त ला लिगामै गरेका थिए। उनले सन् २०१४–१५ सिजनमा रियलका लागि ४८ खेल खेल्दै ६१ गोल गरेका थिए।
७ नम्बरको जर्सीसँग रोनाल्डोको नाता
रोनाल्डो आफ्नो ७ नम्बरको जर्सीका पर्यायवाची बनिसकेका छन्। उनले युनाइटेडमा खेल्न थालेदेखि नै ७ नम्बरको जर्सी लगाउन थालेका थिए। रियाल हुँदै युभेन्टसमा उनले त्यो परम्परा कायम राखेका थिए।
रोनाल्डोलाई ‘सीआर७’ को उपनामले पनि चिनिन्छ। क्लब र देश दुवै खेलमा रोनाल्डोले ७ नम्बर जर्सी नै लिने गरेका छन्। उनले थरको पहिलो अक्षरमा जर्सी नम्बर राखेर अन्तर्राष्ट्रिय ब्रान्ड नै बनाएका छन्।
उनले युभेन्टसमा हआँ कुआद्रादोबाट ७ नम्बर जर्सी खोसेका थिए। रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने भएपछि कुआद्रादोले १६ नम्बर पाएका थिए।
फुटबल करिअरको सुरूवातमा पोर्चुगिज क्लब स्पोर्टिङ क्लबमा खेल्दा उनले २८ नम्बरको जर्सी लगाउँथे।
तर सन् २००४ मा युनाइटेड आएपछि उनलाई तत्कालीन व्यवस्थापक सर एलेक्स फर्गुसनले ७ नम्बरको जर्सी दिएका हुन्।
त्यो जर्सी लगाएका पुराना खेलाडी कै उचाइमा रोनाल्डो पुग्ने उनको विश्वास थियो, त्यो पूरा पनि भएको छ।
उनीअघि डेभिड बेकहम, जर्ज बेस्ट र एरिक क्यान्टोना जस्ता खेलाडीले ७ नम्बरको जर्सी लगाएका थिए।
सन् २००३ देखि २००९सम्म ६ सिजन युनाइटेडमै बिताउँदा रोनाल्डोले पनि आफूलाई ‘लिजेन्ड’का रुपमा स्थापित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।