काठमाडौं– सहकर्मी सैनिक (हुद्दा) को हत्या अभियोगमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई जन्म कैदको फैसला सुनाइएको छ।
नेपाली सेनाको समरी जनरल सैनिक अदालतले महेन्द्र दल गणमा कार्यरत ढकाललाई बुधबार २५ वर्ष कैद सजाय हुने फैसला सुनाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
सेनाको महेन्द्र दल गणमा कार्यरत हुद्दा भरत गुरुङको गत साउन ७ गते चितवनको भरतपुर महानगरपालिका–१७ शारदानगरस्थित सिमल डाँडामा शव फेला परेको थियो।
गोली लागेको अवस्था गुरुङको शव फेला परेपछि प्रहरीले हत्या आरोपमा ढकाललाई चितवनको टाँडीबाट पक्राउ गरेको थियो।
प्रहरीले ढकालविरुद्ध अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दामा अधिकत्तम कैद सजायको मागदाबी गर्दै मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको थियो। पछि जिल्ला अदालत चितवनको आदेशानुसार ढकालमाथि अनुसन्धानका लागि नेपाली सेनाले कोर्ट अफ इन्क्वाइरी गठन गरेको थियो।
कोर्ट अफ इन्क्वाइरीको प्रतिवेदनका आधारमा सैनिक समरी अदालतले बुधबार हत्यासम्बन्धी कसूर समेत गरेको अभियोगमा दोषी ठहर गर्दै जन्म कैद (२५ वर्ष) सजाय र भिवष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी फैसला गरेको हो।
सैनिक समरी अदालतले गरेको फैसला प्रतिवादी (ढकाल)लाई भने बिहीबार सुनाइएको र बिहीबारदेखि नै कार्यान्वयन समेत भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।