काठमाडौं– ‘ए बूढा, तपाईंको राजनीति के हुन्छ? पार्टी कस्तो बन्ने हो? फेरि घर आएर हलो जोत्नुपर्ला नि!’
नेकपा (एकीकृत समाजवादी) गठन गर्ने संघारमा मेटमणि चौधरीलाई उनकी श्रीमती खुमाले यस्तै प्रश्न सोधेकी थिइन्। श्रीमती दाङमा थिइन्, उनी काठमाडौँमा। यताको राजनीतिबारे श्रीमती चिन्तित थिइन्। ‘नेताहरु को–को कता–कता लाग्ने भए?’ मेसेन्जरमा पनि खुमाले सोधिरहन्थिन्।
‘घरमा बाबुआमाले मप्रति भरोसा गर्नुभएको छ। तर, श्रीमतीलाई राजनीति कता जाने हो भन्ने चिन्ता छ,’ मेटमणि भन्छन्।
नेकपा एमाले छाडेर नयाँ पार्टी खोल्न सक्रिय नेतामध्येका एक थिए, मेटमणि। त्यसैले उनी निकै व्यस्त भए। मिडियामा पनि खुब छाए।
एमालेमा नै रहँदा पनि अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचक थिए। बहस गर्ने, विरोध गर्ने र मिडियामा आफ्ना विचार खरोसँग राख्ने उनको स्वभावले चाँडै राष्ट्रियस्तरमा चिनिए। स्पष्ट वक्ता भएकै कारण एमालेको अन्तरसंघर्षमा उनी चर्चामा रहे।
उनी स्थानीय राजनीतिबाट केन्द्रमा उदाएका नेता हुन्। २०७४ सालमा पहिलोपटक प्रतिनिधि सभाका लागि निर्वाचित भए। दाङ क्षेत्र नं. १ बाट निर्वाचित भएर काठमाडौँ आएपछि उनको छवि नै फेरियो। किनभने, अध्यक्ष ओलीविरुद्ध मुखर हुने थोरै नेतामध्ये उनी पनि थिए।
प्रधानमन्त्रीको हैसियतमा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा उनी त्यसविरुद्ध निरन्तर लागिरहे। ओलीले झन्डै दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारलाई छिन्नभिन्न बनाउन र संविधान मास्न लागेको भन्दै उनी नेतृत्वसँग जुधिरहे।
उति बेला केही शुभचिन्तकले मेटमणिलाई आफ्नै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीविरुद्ध नबोल्न सुझाव पनि दिएका थिए। ‘पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीको किन आलोचना गर्छस्? तैँले भोलि चुनावमा टिकट पाउँदैनस्, तेरो सबै राजनीति सकिन्छ। ओली हुँदासम्म सधैँ पिसिने भइस् भनेर साथीहरुले नबोल्न सुझाव दिन्थे,’ उनले भने, ‘सत्य कुरा सत्य नै हुन्छ। त्यो सानो समूहबाटै सुरुआत हुन्छ र बिस्तारै ठूलो आकार लिन्छ। मैले साथीहरुलाई यही जवाफ दिने गरेको थिएँ।’
उनले एमालेको पछिल्लो आन्तरिक संघर्षमा माधवकुमार नेपाललाई बलियो गरी साथ दिए। नेकपा एकीकृत समाजवादी गठन गर्दा कतिपय वरिष्ठ नेता तथा सांसदहरुले नेता नेपालको साथ छाडे पनि भरोसा दिने थोरै नेतामा उनी पर्छन्। नेकपा एकीकृत समाजवादीले आधिकारिकता पाएको दिन, गत ९ भदौमा उनले मिडियासामु भनेका थिए, ‘अब बल्ल स्वतन्त्र भएर ओलीसँग भिड्न पाइने भयो।’
केन्द्रमा ओलीजस्तै दाङमा पोखरेल प्रवृत्ति!
एमालेको नवौँ महाधिवेशन अघिसम्म मेटमणि ओली समूहमा थिए। ओली समूहका नेता शंकर पोखरेल पनि दाङकै हुन्। तर, उनीसँग मेटमणिको सम्बन्ध भने पहिलो संविधानसभाको निर्वाचनबाटै बिग्रिसकेको थियो।
२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनी दाङबाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न चाहेका थिए। तर, शंकर पोखरेलले नै रोकेको उनी बताउँछन्। यद्यपि, उनीहरु दुवै जना समानुपातिक उम्मेदवार भए।
पोखरेल समानुपातिक सभासद् भए। तर, मेटमणिलाई भने उनै पोखरेलले रोके। ‘उति बेला केपी ओली मलाई सभासद् बनाउन तयार थिए। यो केटो धेरै ट्यालेन्ट छ, असल छ, यसलाई नेता बनाउनु पर्छ– भन्थे,’ मेटमणिले भने, ‘तर, एमए पढेका कति मान्छे छन् कति! अब विश्वविद्यालयका सबैलाई ल्याएर सभासद् बनाइदिउँ भनेर शंकरले भनेछन्। राजीनामाको धम्की दिएर मलाई रोके।’ कमजोर मान्छे मात्रै खोज्ने शंकर पोखरेलको प्रवृत्ति भएकाले आफूलाई सभासद् बनाउनबाट रोकेको उनको आरोप छ।
मेटमणिलाई हरेक ठाउँमा रोक्न खोजेपछि उनी पोखरेलका आलोचक भए। जिल्लामा उनले पोखरेललाई चुनौती दिन थाले। तर, केन्द्रमा पोखरेल र मेटमणि दुवै एउटै समूहमा भएको हुनाले साझा नेता ओली नै थिए। ओली भने पोखरेललाई महत्व दिन्थे। त्यसकारण नवौँ महाधिवेशनअघि नै उनले ओली समूह छाडे।
उनी महाधिवेशनमा नेपाल समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भए। पोखरेल भने उपमहासचिवमा पराजित भए। तर, ओलीले उनलाई स्थायी कमिटी सदस्य बनाए। दाङबाट एमालेको केन्द्रमा चार नेता भए। उपाध्यक्ष युवराज ज्ञवाली र पोखरेल स्थायी कमिटी तथा मेटमणि र भागवत विश्वास केन्द्रीय सदस्य थिए। नेपाल समूहबाट निर्वाचित भए पनि ओलीले २०७१ सालमा उनलाई दाङ जिल्लाको इन्चार्ज बनाए। त्यसयता गृह जिल्लामा पोखरेल पक्ष अल्पमतमा छ।
ओलीको आलोचनाले चर्चा
मेटमणि ओलीको समूहमा हुँदा उनीसँग निकै नजिक थिए। राजनीतिमा अघि बढ्न ओलीले साथ पनि दिएका थिए। विद्यार्थी राजनीतिमा हुँदादेखि नै ओलीले मेटमणिलाई ‘ग्रुमिङ’ गरेका हुन्।
एमालेको नवौँ महाधिवेसनमा नेपाल समूहमा लागेर केन्द्रीय सदस्य जितेपछि पनि ओलीसँगको सम्बन्ध राम्रो थियो। ओली सरकारले पहिलो बजेट ल्याएपछि उनले अर्थमन्त्री युवराज खतिवडाको राजीनामा मागे। समाजवादी नीति तथा कार्यक्रमलाई सहयोग पुग्नेगरी बजेट नल्याएको भन्दै उनले संसदमै राजीनामा मागेका थिए। त्यति बेला तत्कालीन नेकपाका कोही नेताले पनि अर्थमन्त्रीको आलोचना गर्न आँट नगरेको बेला विरोधमा बोल्ने उनी एक्लो थिए। अर्थमन्त्रीको राजीनामा माग्नेक्रममा उनले प्रधानमन्त्री ओलीको समेत आलोचना गरे।
‘मैले व्यक्तिगत रुपमा भन्दा पनि नीति तथा कार्यक्रम र बजेटलाई आधार बनाएर ओलीको आलोचना गरेँ। अर्थमन्त्रीको राजीनामा मागेँ। त्यति बेला पार्टीभित्र कसैले यस्तो आँट गरेका थिएनन्,’ उनले भने। पछि संसद विघटनपछि उनी पनि आन्दोलनमा लागे। ‘त्यसपछि ओलीले भेट गर्न खबर पठाए। उनका मान्छेले पीएमलाई भेटेर आफ्नो कुरा राख्न भन्थे। टीम परिवर्तन गर्ने प्रस्ताव थियो, तर संविधान र लोकतन्त्र मास्नेसँग भेट्दिनँ भनिदिएँ,’ उनले सुनाए।
ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भए पनि उनीमाथि मेटमणिको आशा र भरोसा दुवै मरिसकेको थियो। त्यसैले उनी दुई पटकको प्रतिनिधि सभा विघटनविरुद्ध खरोरुपमा सडकमा आए। अनि, मिडियामा छाउन थाले।
आफू झूटो कुरा गर्न राजनीतिमा नआएको उनी बताउँछन्। कुटनीतिको नाममा ‘हजार कुरा पेटमा राखेर’ झूटो बोल्दै जनतालाई अलमलमा पार्न नहुने उनको भनाइ छ। ‘एउटाले एक थोक र अर्कोले अर्कै बुझ्ने खालको बोल्नुहुन्न। दूरदराजका जनताले कुटनीतिक भाषा बुझ्दैनन्। त्यसैले स्पष्ट बोल्नु पर्छ,’ उनी भन्छन्, ‘मैले ढाँट्नलाई राजनीति गरेको होइन।’
राजनीतिक रुपमा नजिक भएका उनका साथीले बाहिर धेरै नबोल्न सुझाव दिन्छन्। ‘सबै कुरा किन बोल्छस्? यत्रो नेता भइसकिस्, केही कुरा त लुकाउनु पर्छ। बाहिर थोरै मात्र बोल्नुपर्छ,’ यस्तो सुझाव दिनेहरु धेरै छन्। मेटमणिले भने, ‘मैले अपराध गरेको छु भने पनि भन्न सक्नुपर्छ। यो ठाउँमा पुगेको मान्छेलाई सत्य कुरा बताउन के गाह्रो छ?’ नेताले बोली र व्यवहारमा जनतालाई भ्रममा पार्न नहुने उनी बताउँछन्।
राजालाई ‘गोमन सर्प’ भन्दा दिनभरि हिरासत
मेटमणि अहिले मात्र नभइ, किशोरावस्थादेखि नै स्पष्ट वक्ता थिए। पञ्चायतविरुद्ध भाषण गर्दै हिँड्थे। ‘मेरो आवाज महिलाको जस्तो थियो, माइकबाट चर्को बोल्दा को महिला रहेछ भनेर टाढा–टाढाबाट हेर्न आइपुग्थे,’ उनले भने।
उनका बाबु भगवतीप्रसाद चौधरी पनि कम्युनिस्ट नेता थिए। घरमा मदन भण्डारी, जीवराज आश्रित, नेत्रलाल अभागीलगायत नेताहरुको आउजाउ भइरहन्थ्यो। त्यो घर कम्युनिस्ट नेताहरुको सेल्टर नै थियो।
मेटमणि राजनीतिक परिवारमा हुर्केकाले मोदनाथ प्रश्रितका प्रायः किताब स्कुल जीवनमै पढिसकेको बताए। बाबु भगवतीप्रसाद २०३८ साल र २०४५ सालमा तत्कालीन गढवा गाउँपञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए।
मेटमणि ८ कक्षामा पढ्दा १४ वर्षका थिए। प्रजातन्त्र दिवसको दिन उनले तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यविरुद्ध गम्भीर आरोप लगाएर भाषण गरे। उनले भनेका थिए, ‘रानीले जनतालाई शोषण गरेर स्वीजरल्याण्डको बैंकमा पैसा राखेकी छन्। राजा भनेको गोमन सर्प हो, यसले सबैलाई डसेर मार्छ। त्यसैले राजतन्त्र फाल्नु पर्छ।’
त्यसपछि प्रहरीले मेटमणिलाई पक्राउ गरी हात बाँधेर चौकी लग्यो। त्यहाँ दिनभरि राखे। प्रधानपञ्चको छोरा भएको थाहा पाएपछि बाबुलाई बोलाए। अनि बाबुले चाहिँ ‘छोराले बोल्न जान्दैन, बहुला छ’ भनेर छुटाए। मोदनाथ प्रश्रितका पुस्तकबाट प्रभावित भएर त्यसरी बोलेको उनी बताउँछन्। ‘मैले जानेर बुझेर बोलेको थिइनँ, त्यति बेला जे मुखमा आयो बोलेँ, बोल्नुपर्छ भन्ने चाहिँ प्रश्रितका पुस्तक पढेर बुझेको थिएँ,’ उनी भन्छन्।
घरमा लगेपछि बाबुले उनको कुरामा समर्थन गरे। तर, सार्वजनिक ठाउँमा त्यसरी नबोल्न भने। ‘त्यसपछि मलाई पनि ठीकै बोलेँछु भन्ने भयो,’ उनले भने।
त्यो भाषणलाई विद्यार्थीले नबुझे पनि शिक्षकले बुझेपछि हंगामा भएको उनले बताए। विद्यालयका प्रधानाध्यापक कांग्रेस निकट प्रदीप थापा थिए। थापाले त्यसपछि सोधेका थिए, ‘ए, मेटमणि के–के बोल्छौ? तिमीलाई यस्तो बोल्न कसले सिकाउँछ?’ अहिले पनि त्यो घटना आफूले सम्झिरहने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।