काठमाडौं– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको बताएका छन् ।
शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै खेलकुदमन्त्री चौधरीले एनपीएल रोक्न आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका हुन् ।
‘नेपाल सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्न मेरो संलग्नता भएको भनी प्रचार गरिनु गलत विषय हो’, विज्ञप्तिमा भनिएको छ ।
अख्तियारमा परेको उजुरीका विषय छानबिन गर्न पत्राचार भएबमोजिम नियमानुसार छानबिन कार्यदल गठन गरिएको र उक्त समितिले छानबिन गरी प्रतिवेदन बुझाइसकिएको मन्त्री चौधरीले बताए ।
कार्यदलले बुझाएको प्रतिवेदन मन्त्रालयले अध्ययन गर्ने र कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।
एनपीएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको उनको जिकिर छ ।
खेल संघ-महासंघभित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानून नियमानुसार हुनुपर्ने सम्बन्धमा आफू सदैव रहेको मन्त्री चौधरीले सुनाए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।