नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा चुनिने अपेक्षाका साथ कांग्रेस नेताहरुले तयारी गरिरहेका छन्। एकपछि अर्को गर्दै विभिन्न पदमा आफ्नो दाबी प्रस्तुत गर्ने क्रम चलिरहेको छ। मंसिरमा हुने महाधिवेशनमा मूल नेतृत्व सभापति र महामन्त्री दुवैमा धेरै नेताहरुको आकांक्षा छ र कुनै न कुनै रुपमा दाबी प्रस्तुत भइरहेको छ। महामन्त्रीमा औपचारिक रुपमा दाबी पेश गर्ने गगन थापा पहिलो भएका छन्। केही दिनअघि आफ्नै वडाबाट महामन्त्रीको उम्मेद्वारी घोषणा गरेका गगन किन महामन्त्री बन्न खोजिरहेका छन्? विगतको अनुभवले अहिले कस्तो प्रभाव पारेको छ? नेतृत्वको दाबी गर्दै गर्दा उनले कांग्रेसलाई डोर्याउने कस्तो नीति अख्तियार गर्छन्? यिनै विषयमा केन्द्रित रहेर नेपाल लाइभका डिबी खड्काले थापासँग गरेको संवाद :
तपाईंले उम्मेद्वारी औपचारिक रुपमै घोषणा गरेपछि कांग्रेस महाधिवेशन हुन्छ भन्नेमा चाहिँ ढुक्क हुनुपर्यो, होइन?
हाम्रो महाधिवेशन मिति पटक–पटक तलमाथि भइरह्यो। हामी आफैंले तोकेको कार्यतालिकामा प्रतिबद्ध भएर काम गर्न नसकिरहेको अवस्थामा अलमल थियो। उम्मेद्वारी घोषणाले महाधिवेशन हुने कुरामा आश्वस्त बनाउँछ नै। यदि मेरो उम्मेद्वारी घोषणाले थप विश्वस्त बनायो भने त्यो मेरा लागि पनि सुखद् कुरा हो।
उम्मेद्वारी घोषणा कार्यक्रम धेरै भन्दा धेरैलाई जानकारी दिनेगरी गरिन्छ। यसलाई प्रचारको माध्यम बनाइन्छ। तपाईंले त थोरै कार्यकर्तामाझ सुटुक्कै घोषणा गर्नुभयो?
मेरो उम्मेद्वारीको सन्दर्भमा साथीहरुसँग छलफल गरिरहेको थिएँ। योजनाअनुसार त कम्तिमा ३०/३५ दिन पछाडि मात्रै घोषणा गर्थें होला। मेरो अस्तिको घोषणा पूर्वनिर्धारित थिएन। मेरो टोलको पार्टी कार्यकर्ता भेलामा परिचयात्मक कार्यक्रम थियो। पार्टीमा शेरबहादुर देउवा पनि मेरो दाइ, रामचन्द्र पौडेल पनि मेरो दाइ, कृष्ण सिटौला पनि मेरो दाइ। त्यो कार्यक्रममा भने मैले अंकल र आन्टी भन्नेहरु हुनुहुन्थ्यो। म जन्मेको, हुर्केको यहीँ। आन्दोलनमा हिँडेको यहीँबाट, पहिलोपटक भाषण गरेको यहीँ।
राजनीतिक हिसाबले सोच्ने हो भने ‘पहिलोपटक’ सबै यही टोलबाट भएको छ। मलाई राजनीति सिकाएको, हिँडाएको यहीँबाट हो। अहिले पनि सम्झिन्छु– त्योबेला नेपाली कांग्रेसमा बाल कांग्रेस भनेर जुलुसमा हिँडाउने चलन थियो। म बाल कांग्रेस भएर हिँडें। पार्टीको पोष्टर टाल्न लगाएको, माइकिङ गर्न लगाएको सबै स्मृतिहरु त्यहाँ राखें। अरुले पनि राख्नुभयो। म यसपटक महामन्त्री लड्ने भन्ने कुरा भइरहेको थियो। मैले आफूलाई लागेको कुरा त्यहाँ भन्नुपर्छ जस्तो लाग्यो, प्रारम्भ यहीँबाट गर्छु भन्ने लाग्यो। त्यो त्यहीँ सीमित होला भन्ने लागेको थियो। अहिलेको नयाँ मिडियाले गर्दा त्यो बाहिर आयो। तर, अफशोच मान्नुपर्ने केही छैन।
आज फर्केर हेर्दा सन्तोष लाग्यो। योजना बनाएर गरेको थिइनँ, प्रारम्भ यही हो। माटोसँग जोडिने र फर्किने भन्छौं नि, त्यही भयो। मेरो राजनीतिक यात्रा सकिने पनि यहीँ हो। यो ठाउँमा आफ्नो प्रियजनका बीचमा लागेको कुरा भनें। आम चुनाव लडेपनि अत्यधिक विजयी गराउने ठाउँ यही हो। उहाँहरुलाई हामीले हुर्काएको केटो अघि बढिरहेको छ भनेर गर्व गरिरहनुभएको छ। त्यसैले अहिले ठीक गरेछु जस्तो लागेको छ।
चर्चा धेरैको छ। तर, औपचारिक घोषणा गर्ने तपाईं नै पहिलो हुनुभएको छ। प्रतिक्रिया कस्तो आइरहेको छ?
अघिल्लो निर्वाचपछि पार्टीको काममा देशैभरि हिँडेको छु। पार्टीको तल्लो तहमा बसेका कार्यकर्तालाई देशको समाजको चिन्ता हुन्छ। लाभको पद के पाउने भन्ने पनि हुँदैन। थोरै हुन्छन् त्यस्तो। उहाँहरुलाई गाउँमा भेट्दा कांग्रेसको चिन्ता थियो। कांग्रेस बिग्रेको छ, पुनःजागरण गर्नुपर्छ, यसलाई सम्हाल्नुपर्छ है बाबु भनिराख्नुहुन्थ्यो। त्यो भन्दै गर्दा कसैले स्पष्ट रुपमा महामन्त्री बन्नुपर्छ भन्नुभएको छ, कसैले संकेत गर्नुभएको छ।
‘यो महाधिवेशनमा महामन्त्री बन्ने हो। जिम्मा लिने हो,’ कसैले यसरी भन्नुभयो। कसैले भन्नुभयो– उत्ताउलो हुने होइन नि, भावनामा आएर यसैपालि सभापति बन्ने भन्नुहोला नि। यो पुरानो पार्टी हो, कार्यकर्ता तयार नहोलान्। नौजवान साथीहरुले चाहिँ यसपालि आँट गर्नुपर्छ भन्नुभयो।
मैले महामन्त्री घोषणा गर्नुअघि नै धेरैले मलाई महामन्त्रीका रुपमा हेर्नुभएको थियो। त्यसैले उहाँहरुलाई नौलो लागेको छैन, बरु आश्वस्त हुनुभएको छ। हामीले भनेको मानिरहेको रहेछ भनेर फेरि विश्वस्त हुनुभएको छ। नेपाली कांग्रेस बलियो भएर राष्ट्रप्रतिका जिम्मेवारी निर्वाह गर्न सुदृढ कांग्रेस बनाउने मेरो सोच रहेको छ। त्यो बलियो कांग्रेसका लागि उहाँहरुले नै रोजिदिएको स्थान लिन खोजेकोमा चित्त बुझाएको पाएको छु।
हाम्रो परम्परागत अभ्यास गुटगत प्यानल बनाएर चुनाव लड्ने छ। तपाईं पनि त्यही परम्पराबाट यहाँसम्म पुग्नुभयो। कांग्रेसको काँध (महामन्त्री) बन्न तपाईं तयार हुनुभयो, तपाईंको शिर (सभापति) को हो?
मेरो पहिले पनि अलि फरक थियो। अघिल्लोपटक पनि महाधिवेशन भन्दा अगाडि आदरणीय नेता प्रदीप गिरिसँग पोखरामा छलफल गरेर महामन्त्रीको उम्मेद्वारी दिने मिति तय गरेको थिएँ। मैले सम्पादन गरेको पार्टीको दस्तावेज विमोचन कार्यक्रमका लागि प्रज्ञा भवनको हल बुक गरेको थिएँ, त्यो विमोचन गरेर उम्मेद्वारी घोषणा गर्ने भन्ने तयारी थियो। प्रदीप गिरि दाइ एकमात्र वक्ता रहने तय थियो। त्यहीबेला हाम्रो आदरणीय नेता शुशील कोइरालाको निधन भयो।
त्यसपछि धेरै कुरा तलमाथि भयो। महामन्त्री निधो गर्दा मेरो सभापति को भन्ने थिएन। त्यतिबेला अहिलेको जस्तो माहोल थिएन। ‘छिटो भयो, हतार भयो’ भन्नेहरु धेरै हुनुहुन्थ्यो। तर, त्यो बेला पनि मैले सोचविचार गरेरै घोषणा गरेको हुँ। अधिवेशनको नजिक गएपछि कृष्णप्रसाद सिटौला पनि म जस्तै गुटबिहीन तर सभापति लड्ने हो भनेर अघि बढ्नुभएको थियो। राजनीतिक अजेन्डा पनि मिल्यो। संविधान बनाउने जिम्मेवारी निर्वाह गरेर आउनुभएको उहाँ, म संविधान बनाउने आधार तयार गर्न लडेको कार्यकर्ता भएकाले परिवर्तनको पक्षमा लड्नेहरु एक ठाउँ किन नहुने भन्ने भयो। एकै ठाउँ बसेर लड्यौं।
योपटक निधो गरेको बताइहालें। यसको अर्थ एक्लै हिँड्छु भनेको होइन। कृष्णप्रसाद सिटौलासँग म निकटमै रहेर काम गरिरहेको छु। उहाँको शुभेच्छा, साथ, सहयोगको अपेक्षा त गरिहाल्छु र हुन्छ पनि। सभापतिका विषयमा कसरी अघि बढ्ने भन्ने सल्लाह भइरहेको छ। समझदारी हुन्छ।
अर्कोतर्फ हामी १२ जनाजति केन्द्रीय सदस्य साथीहरु दुई वर्षदेखि एकसाथ काम गरिरहेका छौं। पार्टीको विभिन्न अजेन्डामा हामीले सहकार्य गरिरहेका छौं। हामी संवाद गरिरहेका छौं। सभापतिका विषयमा पनि कसलाई साथ दिने? कसरी अघि बढ्ने ? भन्ने विषयमा छलफल भइरहेको छ, त्यहाँ पनि एउटा निष्कर्षमा पुग्छौं। सभापतिका प्रत्यासीहरुसँग सामूहिक र व्यक्तिगत रुपमा भेटिरहेका छौं। कुराकानी भइरहेको छ। कुराकानी गर्दै जाँदा कहाँनेर उभिने भनेर टुंगो लाग्छ। जहाँनेर उभिएपनि मेरा केही सपना छन्, ती मेरा निजी होइनन्, मेरो राजनीतिको अर्थ नै अरु १०\१२ वर्ष क्रियाशिल राजनीति गर्छु। जब यसलाई छाडेर सामान्य जीवनमा हुन्छु, त्यतिबेला मैले ३३\४० वर्ष सक्रिय राजनीति गर्दा कतिपटक के प्राप्त गरें होइन, मेरो उपस्थितिले आम नेपालीको जीवनमा के परिवर्तन ल्यायो भनेर नाप्ने हो। त्यसरी हेर्ने हो। त्यस दृष्टिबाट मैले पार्टीको जिम्मेवारी लिनुपर्छ भन्ने ठान्दछु।
मेरा देश र पार्टीसँग जोडिएका ती सपना पूरा गर्नका लागि म महामन्त्री हुने हो। पार्टीका बेथिति बढार्नका लागि, सुदृढ पार्टी निर्माणका लागि मैले काम गर्ने हो। त्यसैले महामन्त्रीका रुपमा उम्मेद्वारी प्रस्तुत गरेको हो। यसक्रममा सभापति छान्दै जाउँला। जो सभापतिका साथ लडेपनि म महामन्त्रीमा लड्छु।
गुटको जरो यति बलियो छ कि तल्लो तहकै निर्वाचनमा त्यसको प्रभाव देखिनेछ। महाधिवेशन प्रतिनिधि समेत कसै न कसैको टिको लगाएर आउने अवस्था छ। संस्थापनले त तपाईंलाई भाग छाड्दैन। संस्थापनइतरको साझा उम्मेद्वार हुनु सक्नुहोला त?
एउटा जिम्मेवारी लिने भनेर अघि बढेपछि समर्थन लिनैपर्छ। सभापतिका उम्मेद्वार जति हुन्छन्, सवैको सहमति लिने प्रयास त गर्नैपर्छ । मैले त अहिलेको मेरो सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै शुभेच्छा र आशिर्वाद खोज्ने हो। उहाँको कार्यकर्ता भएका नाताले त्यो मेरो अधिकार पनि हो । तपाईंले भनेको कुरा नै मान्ने हो भने पार्टीभित्र सीमित व्यक्तिहरु छानिएर आउने भएकाले समुह त निश्चित नै बन्ने भयो।
यो पटकको प्रयास के हो भने सभापतिका जो पाँच–छ जना आकांक्षी छन्, सबैको साझा उम्मेद्वार खोज्ने प्रयत्न गर्ने हो। मैले कृष्ण सिटौलासँग पनि यही प्रस्ताव गरेको छु। हामीहरुको एउटै निर्णय हुन पर्छ। हामीहरुका बीचमा सहमति गरेर एउटै व्यक्ति उम्मेद्वार बनाउन पर्छ। समय लाग्छ तर अन्तिम समयमा यो हुन्छ भन्ने मलाई लाग्छ। समय अझै बाँकी रहेकाले त्यो समयसम्म यो स्वभाविक भएर जान्छ होला।
तपाईंले महामन्त्रीका लागि यसअघि पनि उम्मेद्वारी दिइसक्नुभएको छ। महामन्त्रीको उम्मेद्वारका रुपमा आफूलाई विगतमा र अहिलेमा के फरक पाउनुहुन्छ?
विगतमा पनि मैले यो कुरा गरेको हो। साथीहरुले पनि पार्टीमा मेरो आवश्यकता छ भन्ने महसुस गरेर साथ पनि दिनु भएको थियो। खुलेर सर्मथन गर्न नसकेको अवस्था थियो । छिटो भयो कि भन्ने पनि आएको थियो। एकातिर बीपी कोइरालाको सुपुत्र शशांक कोइराला र अर्कोतिर पार्टीको वरिष्ठ नेता समेत रहनुभएका मेरो ससुराबुवा अर्जुननरसिंह केसी हुनुहुन्थ्यो।
त्यो चुनाव मेरो लागि पनि अनौठो भएको थियो। म निर्वाचनको उम्मेद्वार हुँ कि हैन भन्ने पनि लागेको थियो। त्यो समयमा मेरो उम्मेद्वारी फिर्ता भयो भन्ने एउटा समाचार नै प्रकाशित भयो। यसलाई खण्डन गर्न मैले म मैदानमा छु है भनेर भृकुटीमण्डपमा पत्रकार सम्मेलन नै गर्नपरेको थियो। गगनले उम्मेद्वारी फिर्ता लियो भन्ने हल्लाले मलाई यो अवस्थामा पुर्याएको थियो। निधो गरेदेखि प्रतिस्पर्धासम्म अप्ठयारो र प्रतिकूल थियो।
योपटक मैले भेटेका साथीहरु र भूइँतहमा बसेका कार्यकर्तामा उत्साह देखिएको छ। संविधान बनाउने समयदेखि अहिलेको अवस्थासम्म आउँदा कांग्रेस कतै अड्केको जस्तो र रोकिएको जस्तो भएको छ। यसलाई २००७ सालको जस्तो कांग्रेस बनाउन यसले काम गर्न सक्छ भन्ने आमभरोसा मैले पाएको छु। मतदाता बनाउने साथीहरुले मलाई यसरी हौसला दिनुभएको छ। साथीहरुले यो पटक हामी तपाईलाईं महामन्त्रीमा बनाउने हो तपाई कहाँबाट लड्नुहुन्छ वा कसरी लड्नुहुन्छ? त्यो फरक कुरा हो। विगतमा हामीले मत दिने चाहना राख्दाराख्दै पनि सकेनौं भन्नुभएको छ।
अघिल्लोपटक जे भयो छोडौं, अहिले तपाईंलाई जिताउने हो भनेर साथीहरुले भन्नुभएको छ। त्यसैले अघिल्लोपटक भन्दा फरक के हभे भने म उहाँहरुको चाहनालाई बोकेर हिँडेको छु। विगतमा म एक्लै थिएँ। म मेरो अजेन्डा बोकेर हिँडेको थिएँ, यसपटक साथीहरुको अजेन्डामा म हिँडेको छु। अझ भनौं ऊर्जाशिल कांग्रेस बनाउने सबैको चाहनामा म अघि बढेको छु।
नेतृत्व चुनिनका लागि नीतिले खास अर्थ राख्ने अवस्था त छैन। तपाईं जस्तो नीतिसहितको नेताको अपेक्षा गर्नेबाट आम कार्यकर्ताले महामन्त्रीका रुपमा कस्तो अपेक्षा राख्ने?
हाम्रो पार्टीको विधानले महामन्त्रीको भूमिका निदृष्ट गरेको छ। अर्को, नेपाली कांग्रेसको वैचारिक पक्ष वा पोजिसन कस्तो हुने वा कांग्रेस कहाँ उभिने भन्ने हो। इतिहासको विश्लेषण गरेर समसामयिक विषयमा कसरी प्रस्तुत हुने भन्ने कुराको प्रस्तावक महामन्त्री हुन्छ। अहिले म पार्टीले यो गर्नुपर्छ, त्यसो गर्नुपर्छ भन्ने भूमिकामा छु तर महामन्त्री हुँदा म यसलाई निर्णय गर्ने पोजिसनमा हुनेछु। यो निर्णय गर्ने अख्तियारवाला हुनेछु।
मैले कसरी सोच्छु भने २००६ सालमा पार्टी बन्दै गर्दा नौजवानहरुको जोस थियो। तत्कालीन समयमा राणा शासन, पार्टीहरुलाई संगठन गर्न असहज अवस्था, पार्टीको भविष्य के हुने जस्ता कुरा अन्योलमा थिए। पार्टीमा सांसद वा मन्त्री भइएला भनेर कोही लागेको थिएन। जिल्ला कमिटी पनि थिएन । स्रोतसाधान पनि थिएन। तत्कालीन समयमा कांग्रेस हुँदा सबैलाई गर्व थियो। त्यो क्रान्तिकारिता र एउटा मिसन थियो। देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने एउटै अभियानमा उनीहरु 'जय नेपाल म कांग्रेस' भनेर लागेका थिए।
कांग्रेसलाई त्यहाँ फर्काउनुपर्ने छ। २०१५ सालको कांग्रेस म अहिले सम्झन्छु, बीपी कोइरालाले जम्मा १८–१९ महिना सरकार चलाएको हो। अहिले पनि गाउँमा सम्झना किन हुन्छ? अहिले फेरि पनि हामी १८ महिना सरकार चलाउन पाउँछौ नि। यो समयमा देश र जनताले ५० वर्षसम्म सम्झिराख्ने कांग्रेस बन्न के गरिरहेका छौं? जनताको पक्षमा काम गर्ने कांग्रेस बनाउनुपर्यो नि।
हाम्रो डेमोग्राफी हेर्यो भने युवाको बाहूल्यता छ। अहिले युवायुवाहरुले भरिएको देश हो। अगामी निर्वाचनमा मतदानको लाइनमा युवाहरु ठेलमठेल गरेर कांग्रेसलाई भोट हाल्न आउन्। उसलाई गाजा–बाजा बजाएर हैन। भाषणले फकाएर होइन। आफैं आओस्। म कांग्रेसलाई भोट हाल्ने हो भनेर विश्वास गरेर आओस्। २०१५ सालमा कांग्रेसले दुईतिहाई पाएको हो। २०४८ सालमा इतिहासमै धेरै मत आएको थियो। म काग्रेसलाई त्यो ठाउँमा पुर्याउन चाहन्छु। यो भनेको पार्टीभित्रको पुन:जागरण हो।
नेपालमा कुनै पनि आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको कुरा गर्यो भने त्यसको अगुवा को? कांग्रेस। त्यो प्रगतिशीलता कांग्रेसलाई चाहिएको छ। दोस्रो अजेन्डा, संविधान निर्माण गरेर आएपछि कांग्रेसभित्र अलमल देखिएको छ। हामीले गल्ती पो गर्यौं कि भन्ने पनि छ। तर, हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जुन छ, त्यसमा छाति पिटेर गौरव गर्नुपर्छ। त्यहीँभित्र बसेर समाधान खोज्ने हो। अघि बढ्ने हो। कसैका गुनासो छन् भनेपनि समाधान गर्न अगुवाई कांग्रेसले गर्ने हो। भरोसा दिलाउने हो।
कहिले यो बदलौं भनेको छ, कहिले ऊ बदलौं भनेको छ। होइन, यसबाटै समाधान हुन्छ, तिम्रा चिन्ताहरु छन् भनेपनि म बुझ्छु भन्ने कांग्रेस बनाउने हो। अर्को कुरा महामन्त्रीको काम भनेको व्यवस्थापकीय काम हो। सुरुमा सोध्नुभयो- तपाईंको उम्मेद्वारीले माहोल बन्यो भनेर। यो पार्टीको कार्यकर्तालाई विश्वास छैन। अनसन बसिरहेका छन्। यस्तो पनि हुन्छ। कार्यकर्ता अनसन बसेका छन्। क्रियाशील सदस्य बन्न पनि झगडा भइरहेको छ। कांग्रेसको सदस्य बन्न नपाएको गुनासो छ। १० लाखद क्रियाशील सदस्य व्यवस्थापन गर्न पनि यस्तो सकस? मैले त्यसलाई व्यवस्थापन गर्न सक्ने कौशल मैले राख्छु।
मैले यसरी पो चल्नुपर्छ कांग्रेसको पार्टी कार्यालय, यस्तो पो हुनुपर्छ व्यवस्थापन भन्ने बनाउँछु। कांग्रेसको क्रियाशीलता यस्तो पो हुनुपर्ने हो, कांग्रेसले सामाजिक रुपान्तरणको नेतृत्व यसरी पो लिनुपर्ने हो भन्ने ठाउँमा पुर्याउने र कांग्रेस भएकोमा गर्व गर्ने अवस्थामा पुर्याउने मेरो प्रतिवद्धता हो।
बाहिरबाट हेर्दा गगन थापा संसद्मा कांग्रेसको प्रतिपक्ष अनुहारका रुपमा देखिन्छ। सडकमा पनि कांग्रेसको अग्रपंतिमा यो अनुहार भेटिन्छ। आमजनमा लोकप्रियता पनि देखिन्छ तर, कांग्रेस नेता र कार्यकर्ताले छनोट गर्ने क्रममा तपाईं किन प्राथमिकतामा पर्नुहुन्न? पहिले महामन्त्रीमा पर्नुभएन, अहिले मन्त्रीमा?
कार्यकर्ताले छनोटमा प्राथमिकतामा नपारेको कुरामा सत्यता छैन। मैले अहिलेसम्म जहाँ जिम्मेवारी लिने प्रयास गरेको छु, त्यहाँ संगठनका साथीहरुले ठूलो भरोसा जताउनुभएको छ। पहिलोपटक पार्टीको केन्द्रीय सदस्य लडें, अत्याधिक मतले जितें। महामन्त्री लड्न गएँ। त्यहाँ पनि राम्रै भोट आयो। धेरैले एक/डेढ सयमा खुम्चिन्छ भन्ने आकलन गरेका थिए।
जहाँसम्म स्थापित नेतृत्वको छनोटमा पर्ने कुरा छ, त्यसमा जुन उदार मनले मलाई जिम्मेवारी दिन सक्नुहुन्थ्यो, त्यति उदारता नदेखिएको हो। यसमा गुनासो छैन। मैले सधैँ सिमान्तमा बसेर पार्टीको नेतृत्वमाथि सधै प्रश्न उठाएँ। महामन्त्री भएको दिनदेखि मेरो परीक्षा सुरु हुने हो। त्यसैले जिम्मेवारी देऊ भनेको हुँ। रेकर्डमा राखेर हेर्ने हो भने मैले नेतृत्वमा धेरै प्रश्न गरेको छु। विगतमा नेतृत्वमाथि उठाएका ती प्रश्न महामन्त्री भएको दिनदेखि मैतिर सोझिन्छन्। त्यसैले म कामै गर्ने हो, अब गनगन होइन भनेको हुँ।
कांग्रेसको महाधिवेशन अब सर्दैन भनेर त विश्वास गर्दा भयो नि?
मलाई यो कुराले लज्जा छ। यसमा मेरो पनि जिम्मेवारी र जवाफदेहीता हुन्छ। पार्टी भनेको सबैको हो। कांग्रेसलाई मत नदिनेलाई पनि जवाफ दिनुपर्छ। अहिले मंसिरमा अधिवेशन सर्ने प्रश्न आउने कुरा रातरात भएको हैन। हामीले विगतदेखि नै थिति बसाउने कुरा भत्काउँदै, भत्काउँदै लगेर यहाँ पुगेका हौं। पार्टीको राजनीतिक र वैचारिक पक्ष हुन्छ।
यस्ता कुरामा छलफल नगर्ने परिपाटी भयो। छलफल गर्नुपर्ने, कतिपय कुरामा जुन स्पष्टता चाहिने हो, त्यो नगर्ने र चुक्ने काम भयो। त्यो त राजनीतिक निर्णयहरु हो नि त। अनि पार्टी पार्टी भनेको लाखौं सदस्यहरु भएको एउटा आधुनिक संगठन पनि हो नि। जहाँ हामीले विधिलाई पछ्याउनुपर्ने, व्यवस्थापकीय कौशल राख्नुपर्ने हो, त्यहाँचाहिँ हामीले यो राजनीतिक संगठन हो, त्यसैले कहाँ विधि-सिधि, विधान-सिधान जस्ता प्राविधिक कुरा गरेर कहाँ हुन्छ भनेर भनिदियौं।
मेरो भनाइचाहिँ पार्टी एउटा राजनीतिक संगठन भएकाले समाजमा घटेका प्रत्येक घटनामा पार्टीले कुन पोजिसन लियो भन्ने कुरा आम जनताको चासोको विषय बन्छ। जुन स्वभाविक हो। त्यसमा धेरै भूमिका मुख्य नेतृत्वले गर्छ। पार्टीको सभापति र महामन्त्रीले गर्छ। अरु कार्यकर्तालाई ड्राइभ गर्छ। कतिपय कुराहरु तलबाट आउँछ। त्यसलाई लिन्छ। कहिलेकाहीँ अप्रिय होला। तर, निर्णय गर्छ र अगाडि बढ्छ। यो एउटा पक्ष हो। तर, लाखौं सदस्यहरुको व्यवस्थापनको पाटोमा चाहिँ हामीले विधिलाई कुल्चने भइरह्यो।
एउटा उदाहरण दिन्छु, अहिले हामी क्रियाशील सदस्यको छानबिन गरिरहेका छौं। हाम्रो विधानले तिमी अधिवेशन गरेको तीन वर्षसम्म क्रियाशीलका विषयमा काम गर र चौथो वर्ष गनगन पाउँदैनौं भन्छ। तर, हामी अहिले गरिरहेका छौं। हाम्रो विधानले पार्टीका दुईवटा महामन्त्री र सभापतिले प्रक्रियाबाट आएको क्रियाशीलको अन्तिम टुंगो लगाउने भन्छ। हामीले रमेश लेखकको संयोजकत्वमा छानबिन समिति बनाएका छौं। त्यसलाई हाम्रो विधानले चिन्दैन। शेरबहादुर देउवाको घरमा पदाधिकारीको बैठक बस्छ।
हाम्रो विधानले त्यो पदाधिकारी-पूर्वपदाधिकारी भन्ने चिन्दैन। यसरी हेर्दा हामी विधानले चिन्ने काम गर्दैनौं। तर, हामीलाई यो सामान्य लाग्छ। संविधानले नचिनेको काम गर्दा हामीले कति प्रश्न उठायौं, विधानले नचिनेको काम भने धमाधम गरिरहेका छौं। सबै मिलेर गर्छौं। यसमा हामी सबै मिलेका छौं। किनभने हामी अभ्यस्त भयौं। यस्तै हो भन्ने भयो। यसैगरी चलेको छ भन्ने भयो।
अब यसरी चल्दैन, अब चलाउन दिइँदैन, राजनीतिक कुरा एउटा पक्ष छ, जहाँ स्पष्टता चाहिन्छ, त्यहाँ स्पष्टता, अगाडि बढ्ने र जुन मूल सिद्धान्तले यसलाई मार्गनिर्देशित गर्छ, त्यहाँ एउटा पक्ष हो। तर, व्यवस्थापकीय पक्षको बारेमा पार्टीभित्र न्याय गर्ने र विवेक पुर्याउने एउटा पक्ष भयो। यो राख्ने भन्ने कुराचाहिँ नगर्दाखेरी समस्या भएको हो। मंसिरमा महाधिवेशन होला कि नहोला भन्ने प्रश्न आएको हो।
मंसिरमा महाधिवेशन हुन्छ। १८ गते वडाको अधिवेशन सबै ठाउँमा गर्ने भन्ने थियो। हामी कहीँ १८, कहीँ २१ र कहीँ २२ मा गर्छौं तर ७५३ पालिकामा एकैदिन गर्छौं। त्यसपछिका कार्यतालिका कहीँ पनि तलमाथि हुँदैन। मंसिर ९ गतेबाट केन्द्रीय महाधिवेशन गर्छौं। यसपालिको लागि यो भयो।
यो महाधिवेशनपछि आउने नेतृत्वले, जहाँ हामी पनि हुन्छौं, त्यो ठाउँबाट काम गर्दाखेर पार्टीको जुन वर्षौंदेखिको बेथिति छ। सबैलाई बढारिन्छ। हामीले जिम्मा लिएर चलाएको पार्टीको सचिवालय वा कार्यालयमा बसेको ठाउँबाट फेरि पन्ध्रौं महाधिवेशनमा कागज बोक्दै क्रियाशील सदस्यको यो गरिदेऊ भन्नुपर्ने, अनसन बस्नुपर्ने, अधिवेशन होला कि नहोला भन्नुपर्ने, भातृ संस्थाहरुले वर्षौंसम्म अधिवेशन नभएरै बस्नुपर्ने, बेहाल र बेथिति हुने, टिकट दिने बेलामा न्याय र अन्यायका कुरा हामीले वर्षौंदेखि भोग्यौं। ती केही पनि कुरा हुन दिइन्नँ। यसलाई बढार्न र सुधार्न हामी त्यहाँ जान खोजेको हो। यसलाई बढारिन्छ। यसलाई सुधारिन्छ।
अहिले कांग्रेसको महाधिवशेन भए पनि देशकै महाधिवेशन जस्तो हुनपुगेको छ। किनकि, तपाईंको नेतृत्वमा जो आउँछ, उसले आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नेछ। चुनावमार्फत् ठूलो पार्टी बन्ने चर्चाका कारण आगामी देशकै नेतृत्व पनि उसैले गर्नेछ। तर, कांग्रेसभित्र अनसन, धर्ना, सहमति, उल्लंघन जस्ता विषयले पनि उत्तिकै चर्चा पाइरहेको छ। यस्ता विषयले आगामी निर्वाचनमा कांग्रेसप्रति आम मान्छेले संशय दर्साउने कि नदर्साउने?
दुर्भाग्यवश! संशय दर्साउने ठाउँ हामीले दिइरहेका छौं। कांग्रेसको मंसिरमा हुने महाधिवेशनबाट हामी नेतृत्वमा आउँछौं। हामी चार वर्षका लागि नेतृत्व छान्छौं। २०८२ सालसम्मका लागि नेतृत्व छान्छौं। २०८२ सालसम्म नेपालमा के हुन्छ, हेरौं न। यो मंसिरदेखि अर्को मंसिरसम्म नेपाली कांग्रेसको नेतृत्वमा सरकार चलिरहेको हुन्छ। कांग्रेससँग देशको अपेक्षा के हुन्छ? त्यो सरकारले उपलब्धि दिनुपर्यो। ओली सरकारमा भएका कमजोरीलाई बिर्साउने गरीकन काम गर्न सक्नुपर्यो। सम्हालेर देशलाई निर्वाचनमा लैजान सक्नुपर्यो। एक/डेढ वर्षमा धेरै कुरा बिग्रिन दिनुभएन। बिग्रेको थितिलाई सच्याउनुपर्यो।
हाम्रो संविधानमा धेरै वाचाहरु गरेका छौं। विभेद अन्त्य गर्छौं। अन्यायलाई नामेट गर्छौं। जीवनस्तर उकास्छौं। एक/डेढ वर्ष कांग्रेसले सरकार चलाउँदै गर्दा कम्तीमा केही कुराको छनक त दिनसक्नुपर्यो नि। मान्छेलाई महसुस गराउन सक्नुपर्यो। जनताबाट निर्वाचित भएर गएको प्रधानमन्त्रीले एकपछि अर्को संसद् विघटन गरेको, अदालत चलाएको सबै देख्यौँ नि त। हामीले प्रतिगमन भयो भन्यौं। यसले नेपाली कांग्रेसको नेतृत्वलाई के भन्यो भने यो एक/डेढ वर्षको अवधिमा हाम्रा लोकतान्त्रिक संस्थाहरु, संविधानले सिर्जना गरेका संस्थाहरु सबै बिटुलिएका छन्। यी सबैलाई सफा बनाउने कुरामा कांग्रेसले काम गर्नुपर्यो। यो मंसिरदेखि अर्को मंसिरसम्मको कुरा गरेको मैले।
अब आउने महाधिवेशनबाट आउने नेतृत्वले अर्को मंसिरमा हुने चुनावमा कांग्रेसलाई एक्लै प्रचण्ड बहुमत दिलाउन सक्नुपर्यो। बहुमत ल्याएको सरकारले प्रदेश, स्थानीय सरकार चलाउनुपर्यो। सरकार चलाउनु भनेको समय बिताउनु होइन। उपलब्धि दिन सक्नुपर्यो। नतिजा दिन सक्नुपर्यो। भनेपछि अबको महाधिवेशनबाट आउने नेतृत्वको काम के रहेछ त? पार्टीलाई जनताले विश्वास गर्न सक्ने पनि बनाउनुपर्यो। निर्वाचन गराउनुपर्यो। निर्वाचन जित्नुपर्यो। मत तान्न सक्नुपर्यो। यही पार्टीको सदस्य कोही मेयर बन्छन्, कोही सांसद् बन्छन्, कोही प्रधानमन्त्री बन्छन्। पार्टीका सदस्यले जुनसुकै जिम्मा पाए पनि उसले उच्च नैतिक क्षमता राख्नुपर्यो। योग्यता पनि राख्नुपर्यो। कांग्रेसको प्रत्येक सदस्य नैतिकताको दृष्टिले उच्चतम बिन्दुमा रहोस्। योग्यताको हिसाबले पनि उच्चतम बिन्दुमा रहोस्। हामी त धेरै ठाउँमा दुवैतिर तलतल झर्दै गइरहेका छौं।
यो उचाइमा पुर्याउने गरी कांग्रेस नेतृत्वले काम गर्नुपर्छ। मैले भन्ने गरेको छु, म २०७८ मा महाधिवेशन गरेर २०८२ सालसम्मको समय पाउने हो। मैले धेरै ठूलोठूलो कुरा गरिरहन जरुरी छैन। त्यो समयावधिको मेरो कार्ययोजना के हो? मैले डेलिभरी गर्ने कुरा के हो? त्यसैले २०७८ मा निर्वाचित नेतृत्वले २०८२ सालमा महाधिवेशन गर्छु भन्ने प्रतिबद्धता व्यक्त गर्नुपर्यो। चार वर्षको लागि निर्वाचित भएर पाँच वर्ष र मिल्यो भने अझै तन्काएर लिएर गएको छ। त्यहाँबाट सुरु हुन्छ नि त उसको परीक्षा। त्यसैले कांग्रेसको अब आउने नेतृत्वको परीक्षा यो एक वर्ष सम्हाल्ने र आउने आम निर्वाचनमा कांग्रेसलाई ठूलो पार्टी बनाउने र एकल बहुमत भएको पार्टी बनाउने हो। एक बहुमत भएको पार्टीको आधारमा त्यसले जनतासँग गरेका बाचाहरु पूरा गर्न सक्ने बनाउने हो। योग्यता र श्रेष्ठता भएको पार्टीको कार्यकर्ता पंक्ति बनाउने। यो काम गर्ने हो। यही काम गर्नका निम्ति त्यो ठाउँमा पुग्ने हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।