काठमाडाैं– पर्सिजा जाकार्ताबाट इन्डोनेसियाली लिग खेल्दै आएका रोहित चन्दले भारतविरुद्धको खेलमा उपस्थित हुन नसकेकोमा दु:खी भएको बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा नेपाली टिमलाई शुभकामना सन्देश दिँदै उनले दुई मैत्रीपूर्ण खेलमा आफू खेल्न नपाएकोमा दु:ख व्यक्त गरेका हुन्।
‘भारतविरुद्धको खेलका लागि चाहेर पनि उपस्थित हुन नसकेकोमा एकदमै दु:खी छु। भौतिकरूपमा जाकार्तामा रहे पनि मेरो मन-मष्तिस्क दशरथ रंगशालामा नै हुनेछ,’ रोहितले लेखेका छन्।
इन्डोनेसिया आएपछि ८ दिन अनिवार्य क्वारेन्टिन बस्नु पर्ने नियमका कारण प्राविधिक रुपमा नेपाल आउन सम्भव नभएको उनले बताएका छन्।
‘नेपाल आउने जाने गरेमा दुई हप्ता भन्दा बढी समय घाटा लाग्ने भएकोले यो समयमा आफूलाई तयारी राख्दै प्रतिस्पर्धामा निखारिने मेरो योजना हो। किनभने आगामी महिना हुने साफ च्याम्पियनसिपका लागि तयारी महत्त्वपूर्ण छ। यो विषयमा यसअघि नै एन्फालाई जानकारी गराइसकेको छु,’ उनले लेखेका छन्।
उनले यो दुई मौत्रीपूर्ण खेलले आगामी अक्टोबरमा माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने आशा गरेका छन्। ‘भारतविरुद्ध आज हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली टिम फेरि पनि शुभकामना। भारतविरुद्धको खेलले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि नेपाललाई फाइदा पुग्ने विश्वास छ,’ उनले लेखेका छन्।
नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दै छ। पहिलो खेल आज र दोस्रो खेल आइतबार हुनेछ । देवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५ः३० बजेबाट हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।