काठमाडौं- लगातार दुई दिन उच्च अंकले घटेको सेयरबजारमा आज सामान्य सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से १.१८ अंकले बढेर २९७७.०२ विन्दुमा उक्लिएको छ।
बैंकिङ, होटल तथा पर्यटन, इन्भेस्टमेण्ट, जीवन बिमा र व्यापार उपसमूहको सूचक सकारात्मक बन्दा समग्र नेप्सेमा झिनो अंकको सुधार देखिएको हो। बाँकी उपसमूहका परिसूचक भने आज पनि नकारात्मक बनेका छन्।
आज नेप्सेमा कूल कारोबार नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार रुपैयाँमा सीमित भएको छ। कूल २२६ वटा कम्पनीका एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर एक लाख चार हजार ३४२ पटक खरिद-बिक्री भएका थिए।
ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.१६ अंकले बढेर ५५०.६९ विन्दुमा कायम भएको छ।
आज रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.५५ प्रतिशतका दरले कमाएका छन्। यस्तै सनराइज फर्स्ट म्युचुअल फण्डका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९८ प्रतिशतका दरले गुमाएका छन्।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट लिमिटेडको सेयर सबैभन्दा धेरै ५९ करोड ९९ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा सानीमा इक्युटी फण्ड अग्रस्थानमा रह्यो। उक्त फण्डको सबैभन्दा धेरै आठ लाख २६ हजार ६३० एकाइ कारोबार भएका थिए। यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै तीन हजार १४६ पटक किनबेच भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।