काठमाडौं- विश्वभर फैलिएको कोरोना महामारीले शून्यजस्तै भएको कला क्षेत्र अहिले केही तंग्रिन थालेको छ। विस्तारै फिल्महरु छायांकनदेखि डिजिटलमाध्यमबाटै भएपनि प्रदर्शन हुन थालेका छन्। नेपालमा पनि छायांकन सकिएका केही फिल्महरुले आफ्नो प्रदर्शन डिजिटल माध्यमबाटै गरेका छन्।
हाल नेपालमा डिजिटल माध्यमबाट प्रदर्शन भएका फिल्महरु कोरोना कालअघि छायांकन भएका थिए। ती फिल्ममा पुरानै कथा समेटिएका छन्। कोरोनाकाल यता बन्ने भनेका फिल्महरुमा भने यो समयको कथा समेटिने आशा फिल्मका दर्शकदेखि स्वयं सिनेकर्मीहरुले पनि गरेका छन्।
निर्देशक दीपेन्द्र के खनाल पनि यसमा आशावादी छन्।
‘अबको समयमा बन्ने फिल्महरुमा कोरोनाकालको कथा अवश्य समेटिनेछ,’ खनाल भन्छन्, ‘थोरै फिल्म फ्लोरमा गएका छन्। तीनिहरुमा कुन कथा लिइएको छ भन्ने खुलाइएको छैन। तर, अब आगामी दिनमा बन्ने फिल्महरमा हामीले भोगेको र देखेको महामारीको कथा समेटिन्छ भन्नेमा म आशावादी छु’, उनले भने।
कुनैपनि घट्नापछिको समयमा त्यसको ताजा स्मरणबाट समाजको हरेक क्षेत्र गुज्रिरहेको हुन्छ। फिल्म क्षेत्रमा पनि यसको प्रभाव अवश्य देखिन्छ। निर्देशक खनाल नेपाली फिल्ममा पनि कोरोना महामारीसँग जोडिएका कथाहरु पर्याप्त रुपमा समेटिने बताउँछन्।
उनी भन्छन, ‘दुःखद् र सुखद् सबै किसिमको कथा फिल्ममा समेटिनेछ। हामीले यो समयमा भोगेको अन्योलदेखि यो समयकै कथा पनि हाम्रा सिनेमामा आउने छन्।’
खनालको आगामी फिल्म ‘चिसो मान्छे’ पनि कोरोनाकालीन परिवेशमा आधारित छ। महामारी सुरु भएपछि चैत २०७६ देखि नेपालमा भएको लकडाउनपछिको परिवेशलाई आफ्नो फिल्मको कथामा समेटेका छन् उनले। कोरोनाले ल्याएको अन्योललाई लकडाउनपछिको सेटिङमा प्रस्तुत गरेको उनी बताउँछन्।
‘मैले जस्तै अन्य साथीहरुले पनि यो अवस्थामा आधारित भएर केही सोच्नु भएको होला’, खनाल भन्छन्, ‘त्यसैले पनि म कोरोनाकालको कथा आउनेमा आशावादी छु। आर्थिकदेखि सामाजिक रुपमा यसले थुप्रै रुपान्तरण गरेको छ। ती कथाहरु फिल्ममा आएमा मात्रै ताजा कथा दर्शकले हेर्न पाउँछन्।’
फिल्ममा यो अवस्थालाई कसरी प्रस्तुत गर्छ भन्ने चाहिँ जोखिमको विषय हो। 'जनयुद्ध'पछि बनेका फिल्महरुमा विविधता नभएको र एउटै किसिमको कथा दोहोरिएको आरोप नेपाली फिल्म क्षेत्रलाई लाग्ने गर्छ। कोरोनाकालपछि बन्ने फिल्महरुमा यो समयको कथा समेट्दा पनि यस्तो जोखिम भएको खनाल बताउँछन्।
'अहिले हामी निर्देशक, कलाकारहरु बीचमै भेटघाट राम्रोसँग हुन सकेको छैन। यो समयको कथालाई लिएर कसले कसरी काम गरिरहनु भएको छ भन्ने हामी एकअर्कालाई नै थाहा छैन। यसले पनि भोलि एकै किसिमको कथा आउने जोखिम छ। त्यो बाहेक कथालाई न्याय गर्ने अर्को जोखिम पनि हामीलाई छ', खनालले भने।
अहिले खनाल आफ्नो आउँदो फिल्म ‘चिसो मान्छे’को पोस्ट प्रोडक्सनको काममा व्यस्त छन्। त्योबाहेक अन्य केही नयाँ सोचमा काम गरिरहेका छन्। भदौ ११ मा प्रदर्शन हुने मिति तोकिएको उनको नयाँ फिल्म कोरोनाका कारण पछि सरेको छ।
खनाल भन्छन्, ‘माहोल अलि ठीक भएपछि फिल्मलाई प्रदर्शन गर्ने सोच छ। दर्शकले यो समयमा मनोरञ्जनको अभाव महसुस गरेका छन्। फिल्म क्षेत्र खुलेपछि यसमा दर्शकको उत्साहजन उपस्थिति हुन्छ भन्ने लागेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।