काठमाडाैं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्ध बराबरीका लागि नभई जित्नकै लागि खेल्ने बताएका छन्। बुधबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै उनले भविष्य हेरेर खेल्ने बताएका हुन्।
`नेपालविरुद्ध भारतको इतिहास राम्रो छ। यो खेलले अन्य खेललाई पनि प्रभाव पार्ने भएको कार दुबै खेल जित्न आवश्यक छ। हामी बराबरीको लागि खेल्ने छैनौं, जित्नका लागि खेल्छौं,´ उनले भने।
नेपालले भारतसँग भोलि (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। खेल ५:३० बजे सुरु हुनेछ ।
यस्तै नेपालले भारतसँग दोस्रो खेल आइतबार खेल्नेछ।
प्रशिक्षक अलमुताइरीले वरीयताले टिमलाई असर नगर्नेसमेत बताए। `इतिहास र वरीयताले असर गर्ने छैन। उनीहरु बलिया छन् तर हामी सच्चा गोर्खाली हौं, डटेर खेल्छौं,´ उनले भने।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ। प्रशिक्षक अलमुताइरीले टिमको मुख्य लक्ष्य पनि साफ भएको बताए ।
`दुई महिनाबाट प्रशिक्षण गरिरहेका छौं। हाम्रो लक्ष्य साफ च्याम्पियनसिप हो । यो खेलमा गल्तीहरु सुधार गरेर साफमा बलियो प्रदर्शन गर्ने हो। हामी खेलका लागि तयार छौं,' उनले भने।
तथापि मैत्रीपूर्ण खेलमा भारतसँग पराजित भए पनि त्यसमा चिन्ता लिनु नपर्ने उनले बताए। `यो साफ च्याम्पियनसिप होइन। त्यसैले हारे पनि केही फरक पर्दैन,´ उनले थपे।
मैत्रीपूर्ण खेलका लागि भारतीय टोली मंगलबार काठमाडौं आइपुगेको छ। त्यसका लागि भारतले कोलकातामा प्रशिक्षण गर्दै आएको थियो।
भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालविरुद्धको खेलका लागि नियमित कप्तान सुनील क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टिम घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।