काठमाडौं– काठमाडौंको फोहोर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध अब हट्ने भएको छ। काठमाडौं महानगरपालिका र ल्याण्डफिल साइट (नुवाकोटको सिसडोल)का स्थानीयबीच मंगलबार एक सम्झौता भएपछि फोहोर व्यवस्थापनका सन्दर्भमा देखिएको अवरोध हट्ने भएको हो।
मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण विभाग र सिसडोलका स्थानीयबीच ९ बुँदे सहमति भएको हो।
काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुमार श्रेष्ठ, सिसडोल इञ्चार्ज सरकारदीप श्रेष्ठ, महानगरीय प्रहरी बृत्त बालाजुका इञ्चार्ज डीएसपी निर्मल बुढाथोकी र नुवाकोटको ककनी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी समेतबीच ९ बुँदे सहमति भएको हो।
स्थानीय र महानगरपालिकाबीच तीनपिप्ले–सिसडोल सडक तत्काल (१५) दिनभित्र ग्राभेल गर्ने र कालोपत्रेका लागि लगत्तै टेण्डर प्रक्रियामा जाने, फोहोर ढुवानी गाडीहरुको लिचेड बक्सको व्यवस्था गर्ने तथा तीनपिप्ले–सिसडोल सडक खण्डमा पार्किङ गर्न र ओभरलोड ढुवानी गर्न नपाउने सम्झौता भएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।