काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अदालत, सभामुख र निर्वाचन आयोगको 'भूमिका'प्रति असन्तुष्टि जनाएका छन्। ओलीले सभामुख अग्नि सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाए।
नेकपा (एमाले)को झापा–काठमाडौं सम्पर्क समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडि कान्ला–कान्ला र भिरबाट हिँडेको टिप्पणी गरे।
ओलीले निर्वाचन निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिँड्न छाडेको बताए। अदालतप्रति कटाक्ष गर्दै ओलीले त्यहाँ बसेपछि जे पनि गर्न सकिने जस्तो भइरहेको भन्दै टिप्पणी गरे।
'राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ। राजमार्गबाट सभामुख हिँड्न मान्दैनन्। बाटाबाट हिँड्न मान्दैनन्। कान्ला कान्ला, भिर भिर कुद्छन्,' ओलीले भने, 'निर्वाचन आयोग संविधानको, कानुनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ। सम्मानित अदालतको कुरै नगरौँ। त्यहाँ बसेपछि त जे गर्दापनि हुन्छ। त्यही भइरहेको छ।'
आफूहरुले भने ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेको बताए। ' हामी ती कुराहरुलाई स्वीकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ,' ओलीले भने, 'चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौं। किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ।'
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले वर्तमान सत्ता गठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको टिप्पणी गरे। वर्तमान सत्तारुढ गठबन्धन आगामी चुनावमा भत्किने पनि ओलीले दाबी गरे।
‘अहिले सबभन्दा बढी समाजका लागि चिन्ता भएको, राजनीतिमा चिन्ता भएको कुरो के भने अलोकतान्त्रिक जस्तो अभ्यास भइरहेको छ, त्यो चिन्ताको विषय हो। अहिले सरकारमा को रह्यो, को रहेन, को गयो, जालझेल, षड्यन्त्र गरेर, तिकड्म गरेर, स्वार्थहरुका पोकाहरु एक ठाउँ भेला भएर, उद्देश्य नभएका मान्छेहरुको झुण्ड गयो होला सरकारमा चिन्ताको विषय होइन,' ओलीले भने, 'त्यो गठजोड यताउता त के हुन्छ र चुनावमा गएर के को गठजोड चुनावमा गएर सब ठिकठाक भैहाल्छ?’
ओलीले खेल क्षेत्रलाई महत्व दिनुपर्ने तथा प्रोत्साहन गर्नुपर्ने पनि बताए। खेलले मानिसलाई चुस्त, दुरुस्त, सक्षम र अनुशासित बनाउने पनि उनले उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।