काठमाडौं– स्रोत नखुलेको ३० लाख ७ हजार रुपैयाँ नगदसहित काठमाडौं प्रहरीले २ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु हुण्डी कारोबार रहेका प्रहरीले जानकारी दिएको छ।
काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारको स्टल नम्बर १४ मा फलफूलको व्यापार गर्ने व्यापारी मिन प्रसाद गौतमले हुण्डी कारोबार गर्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भइ कुलेश्वरमा फलफूल व्यापार गर्ने ३४ वर्षीय मिन प्रसाद गौतम र रामेछापको सुनापति गाउँपालिका–१ घर भइ काठमाडौंको कालिमाटी डेरा गरी बस्ने २१ वर्षीय रमेश लिमिल्सेना छन्।
गौतमको पसलमा खानतलासी गर्ने क्रममा सोही पसलमा काम गरी बस्ने कर्मचारी रमेश तिमिल्सेनाले झोलामा लुकाइ छिपाइ राखेको अवस्थामा ३० लाख ७ हजार रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ।
सोधपुछ गर्दा उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी ) रमेश कुमार वस्नेतले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व कार्यालय हरिहर भवन बुझाइएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।