सुर्खेत- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समावेशी प्रतिनिधत्व पाउने वर्ग र क्षेत्रभित्र पनि समन्यायिक वितरण प्रणाली स्थापित गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय समावेशी आयोगले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार आयोजना गरेको 'कर्णाली प्रदेशको समृद्धि र समावेशिताका आधारहरु' विषयक गोष्टीमा बोल्दै अध्यक्ष तिमिल्सिनाले राजनीतिक, प्रशासनिक र शैक्षिक क्षेत्रमा रहेका आरक्षित कोटामा पिछडिएको क्षेत्रबाट कुन वर्ग वा समुदायले कति आरक्षण पाए भन्ने अध्ययन र छलफल हुनुपर्ने बताए।
'आरक्षणका लागि तोकिएको क्लस्टरभित्र पनि सबैभन्दा आधारभूत तहमा रहेकाहरुसम्म आरक्षणको पहुँच कसरी पुर्याउन सकिन्छ त?,' अध्यक्ष तिमिल्सनाले भने, 'महिला कोटामा कर्णालीका महिलाले कत्तिको स्थान पाए? कर्णालीका दलितलाई दलित कोटाभित्रै प्रतिस्पर्धा गर्न सक्ने बनाउन सकिएको छ कि छैन? यसतर्फ वस्तुनिष्ठ छलफल गर्नुपर्छ।'
उनले समावेशिताको नाममा एउटै समुदाय वा वर्गले मात्रै आरक्षण सुविधा पाइरहेका छन् कि भन्दै यसतर्फ पनि छलफल गर्नुपर्ने र आगामी दिनमा समावेशी, सुन्दर समाज र राज्यको काममा यस्ता कार्यक्रमले योगदान पुर्याउन धारणा राखे।
संविधानले राज्यका सबै निकायलाई समावेशी बनाउने ग्यारेन्टी गरेको बताउँदै छोटो समयमा सबै वर्ग, क्षेत्र र समुदायको राज्यका महत्त्वपूर्ण निकायसम्म पुर्याउन सकिएको तिमिल्सिनाले बताए।
उनले लोकतान्त्रिक परिपाटीको लामो अभ्यासले आर्थिक सामाजिक रुपान्तरणसँगै समावेशी समाज निर्माण गर्ने विश्वास व्यक्त गरे।
अध्यक्ष तिमिल्सिनाले केन्द्रिकृत शासन प्रणालीबाट उपेक्षित, पछाडि परेका र पारिएका समग्र क्षेत्रको पहुँच, पहिचान र विकासका लागि देशले संघीय प्रणाली अपनाएको उल्लेख गर्दै कर्णाली प्रदेशको विकासका लागि योजना निर्माण र प्रभावकारी कार्यन्वयनमा जोड दिनुपर्ने बताए।
उनले कर्णाली प्रदेशको अपार जलसम्पदाबाट मात्रै पनि सिंगो देशको आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण हुने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।