काठमाडौं- भारतीय अभिनेता राजकुमार राव मंगलबार आफ्नो ३७औं जन्मदिन मनाइरहेका छन्। भारतीय सिनेमामा सफलसँगै अभिनयको हिसाबमा पनि अब्बल रावको जन्मदिनको अवसरमा सामाजिक सञ्जालदेखि विभिन्न माध्यममा उनीसँग जोडिएका किस्साहरु सार्वजनिक भइरहेका छन्।
मुलधारको बलिउडबाट ‘अनुहार नपरेको मान्छे हिरो हुँदैन’ भन्ने आरोप लगाइएका राजकुमार आज एक सफल अभिनेता बनिसक्दा पनि आफ्नो संघर्षको दिन भुलेका छैनन्। हालसालै उनले दिएको एक अन्तर्वार्तामा आफ्नो अनुहारसँग जोडिएको अर्को किस्सा पनि सार्वजनिक गरेका थिए। उक्त अन्तर्वार्तामा रावले आफूले ११ कक्षामा पढ्दा नै कलाकार बन्ने निर्णय गरेको सम्झिएका छन्।
सोही समय रावलाई आफ्नै कक्षाकी एक युवतीसँग प्रेम बसेको थियो। रावले भनेका छन्, ‘ऊ कुनै सामान्य केटी थिइन्। शाहरुख खानको फिल्म ‘कुछ कुछ होता है’ कि अञ्जली जस्तै थिई। ऊ बास्केटबल खेल्थी, चञ्चल थिई। तर, मेरो दुर्भाग्य ऊ पहिल्यै अमन नामको केटासँग सम्बन्धमा थिई।’
त्यतिबेला राव आफ्नो गाउँ गुडगांवको ब्लु वेल्स स्कुलमा पढ्थे। जसोतसो आफूलाई मन परेकी युवतीसँग उनी डेटिङ जान पाएका थिए। तर, उसको प्रेमीले थाहा पाएपछि भने राजकुमार रावलाई फसाद पर्यो।
‘मैले उसको प्रेमिकासँग डेटिङ गएको थाहा पाएपछि उसले आफ्ना साथीहरु लिएर मलाई कुट्न आएको थियो,’ राव भन्छन्, ‘उनीहरु २५ जना थिए। मलाई निरन्तर कुटिरहेका थिए।’
२५ जनाको कुटाई खाइरहेका रावको ध्यान पीडामाभन्दा पनि धेरै आफ्नो अनुहारमा थियो। उनलाई डर थियो– अनुहारमा चोट लागे हिरो बन्न पाइँदैन।
‘उनीहरुले मलाई कुटिरहँदा मैले नकुट भनिनँ,’ राव भन्छन्, ‘मैले मेरो अनुहारमा चोट लाग्ने गरि नकुट मात्रै भनिरहें। मलाई एक्टर बन्नु छ, अनुहारमा नकुट भनेको सुन्दा मलाई कुटिरहेका सबै जना हाँसेका थिए।’
यिनै राजकुमार अहिले भारतीय सिनेमामा मेथड एक्टरको रुपमा निकै परिचित र चर्चित अनुहार हो। २०१० मा ‘लभ सेक्स और धोखा’ फिल्मबाट डेब्यू गरेका उनले ‘ग्यांग्स अफ वासेपुर (भाग २)’, ‘शाहिद’, ‘न्यूटन’, ‘सिटीलाइट्स’ जस्ता चर्चित फिल्म दिइसकेका छन्। यसवर्ष पनि उनले प्रियंका चोपडासँग स्क्रिन सेयर गर्दै निकै सफल फिल्म ‘द ह्वाइट टाइगर’मा अभिनय गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।