काठमाडौं- यो साताको सुरुआतमै ४९.१८ अंकले घटेको पुँजीबजार मापक नेप्से आज पनि उच्च अंकले घटेको छ।
आज ६९.०५ अंकले घटेर नेप्से २९७५.८४ विन्दुमा ओर्लिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ।
मंगलबार (आज) नेप्सेमा कूल १३ अर्ब २५ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता सेयर एक लाख ३० हजार ७७४ पटक खरिद-बिक्री भएका थिए।
ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १२.३३ अंकले घटेर ५५०.५३ विन्दुमा ओर्लिएको छ।
आज कर्णाली डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ७.५८ प्रतिशतका दरले कमाएका छन्। यस्तै रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९९ प्रतिशतका दरले गुमाएका छन्।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट लिमिटेडको सेयर सबैभन्दा धेरै एक अर्ब एक करोड पाँच लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा सिटिजन्स म्युचुअल फण्ड-१ अग्रस्थानमा रह्यो। उक्त फण्डको सबैभन्दा धेरै १७ लाख ७९ हजार ८०० एकाइ कारोबार भएको थियो। यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै पाँच हजार ३९६ पटक किनबेच भएका थिए।
आज सबै उपसमूहको परिसूचक राताम्य बनेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।