काठमाडौं- एमालेबाट विभाजन भएर वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) लाई वैधानिकता दिन निर्वाचन आयोगले भदौ ९ मा सनाखत गरायो। आयोग कार्यालयमा पुगेर २९ जना (एक जना नयाँ दिल्लीबाट) प्रतिनिधि सभा सदस्य र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरे।
निर्वाचन आयोगको कार्यालय नै पुगेका भएपनि तीन सांसद र एकजना केन्द्रीय कमिटी सदस्यले भने सनाखत गर्न पाएनन्। पार्टी दर्ताका लागि निवेदन दिँदासम्म उनीहरुले आफ्नो पक्षधरता स्पष्ट पार्न सकेका थिएनन्। एकीकृत समाजवादीमा लाग्नेहरुलाई सनाखत गर्न तोकिएको मितिको अघिल्लो मात्रै सांसद तथा केन्द्रीय सदस्यहरु सोमप्रसाद पाण्डे, माया ज्ञवाली, शारदा देवी भट्ट र राजन राईले सनाखत गर्न पाउनुपर्ने भन्दै आयोगमा निवेदन दिएका थिए। तर, आयोगले उक्त निवेदन स्वीकार गर्न सकिने अवस्था नभएको भन्दै उक्त दिन विचाराधीन राख्यो।
९ गते आयोगले उनीहरुको छुट्टै सनाखत गराएको थियो। तर, त्यसलाई मान्यता नदिई आयोगले अन्यको सनाखतको आधारमा पार्टी दर्ताको पत्र दिएको थियो। ९ गते नै आयोग पुगेकी सांसद तुलसा थापाले पनि सनाखत गराउनका लागि निवेदन दिएकी थिइन्। तर, निर्वाचन आयोगले उनलाई पनि सनाखत गराएन।
यसरी आयोगले सनाखत नगरेपछि उनीहरु प्राविधिक रुपमा एमालेतिरै छन्।
अब भने उनीहरुलाई एमालेमै बस्ने कि एकीकृत समाजवादी पार्टीतिर जाने भन्ने प्रश्न उठेको छ। एकीकृत समाजवादी प्रवेश गरेमा सांसदहरुले आफ्नो पद गुमाउनुपर्ने छ।
राजनीतिक दल सम्बन्धी ऐनको व्यवस्था अनुसार उनीहरुले सांसद पद गुमाउनेछन्। माओवादी केन्द्रबाट एमालेमा लागेपछि लेखराज भट्ट, रामबहादुर थापाहरुले झैँ उनीहरुले पनि सांसद पद गुमाउनुपर्ने भएपछि उनीहरुको बचाउका लागि समाजवादीले छलफल थालेको छ।
अध्यादेश ल्याउन देउवाद्वारा अस्वीकार
तीन सांसदको हकमा समस्या भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई एकीकृत समाजवादीका नेताहरुले अध्यादेश ल्याउन सकिन्छ कि भनी प्रस्ताव गरेका थिए। बालुवाटारका कानुनविद्सहितको छलफलमा उनीहरुले तीन सांसद्को लागि गाँठो फुकाइदिन माग गरेका थिए। तर, छलफलमा सहभागी अधिकांश कानुनविद्हरुले अध्यादेशको बाटो हिँड्न नसकिने भनेका थिए।
राष्ट्रिय सभाका सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले त प्रधानमन्त्री देउवालाई पटकपटक जनमतभन्दा बाहिर जाने विकल्पमा नजान भनेका थिए। उनले अध्यादेश होइन, अन्य विकल्पमा जान आग्रह गरे। लगत्तै अरु कानुन व्यवसायीले समेत यही सुझाव दिएका थिए।
कानुनविद्हरुको सुझावपछि प्रधानमन्त्री देउवाले अब आफू थप अध्यादेश ल्याउन पक्षमा नभएको भन्दै अध्यादेशको प्रस्तावलाई अस्वीकार गरेका थिए। लगत्तै एकीकृत समाजवादीले थप कानुनी परामर्श थालेका थिए। उनीहरुले राजनीतिक दल सम्बन्धी नियमावली संशोधनले बाधा फुक्छ कि भनी छलफल गरेका थिए। तर, उक्त प्रयास असफल भएपछि उनीहरु पर्ख र हेरको अवस्थामा रहेका छन्।
अन्तिम विकल्प सर्वोच्च जाने
एमालेले सांसदहरुलाई कारबाही गरेपछि सर्वोच्च अदालत जाने कि त्यसअघि नै जाने भन्ने विषयमा एकीकृत समाजवादीभित्र छलफल चलिरहेको छ। एमालेले कारबाही गरेर हटाएर जाँदा ढिलो हुने भएकाले त्यसअघि नै गएर अन्तरिम आदेश लिनुपर्ने पक्षमा आफूहरुले जोड दिएको सो पार्टीका एक नेताले बताए।
सर्वोच्च अदालतमा निर्वाचन आयोग समेतलाई विपक्षी बनाई सनाखतमा समावेश गर्नु भनी मुद्दा दायर गर्ने र अन्तरिम आदेश जारी भएमा सांसद पदमा कायम रहने भएकाले कानुनविद्हरुले यही बाटो जान सुझाएका छन्। सर्वोच्चले उक्त सनाखतलाई मान्यता दिन आदेश गरेमा उनीहरुको सांसद पद जोगिने र एमालेले कारबाही गर्न नमिल्ने उनीहरुको बुझाई छ।
समाजवादी दलमा लागेमा उनीहरुले स्वतः दल त्यागेको हुने भएको र सांसदबाट अलग हुनुपर्ने भएकाले अहिले नै कारबाही गर्ने कुरा नभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।
एमालेले निर्वाचन आयोगविरुद्ध नै मुद्दा दर्ताको तयारी गरिरहेकाले एमालेमा रहेर अर्को पार्टीको समर्थन गरेको जस्तो देखिएपनि एमालेमै रहेकालाई कारबाही गर्ने कुरा नआउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।