एमाले छाडेर एकीकृत समाजवादी रोजेका प्रदेश २ का सांसद् शत्रुधन महतो
काठमाडौं– नेकपा एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका प्रदेश २ का १३ जना सांसद्हरू बैठकपछि सनाखतका लागि निर्वाचन आयोग जाने भएका छन्।
एमाले छाडेर एकीकृत समाजवादी रोजेका प्रदेश २ का सांसद् शत्रुधन महतोले आफू काठमाडौंबाट जनकपुर फर्किँदै गरेको र भोलि वा पर्सितिर बैठक बसेर निर्णय गर्ने अनि मात्रै प्रदेश निर्वाचन कार्यालय जाने बताए।
पार्टीभित्र विवाद बढेका बेला गत चैतमा माधव नेपाल पक्षले महतोलाई नै संसदीय दलको नेता चयन गरेको थियो।
तत्कालीन एमालेको २१ मध्ये १३ सांसद्को मतबाट महतो संसदीय दलको नेतामा निर्वाचित भएका थिए।
महतोले आफ्नो पक्षमा पहिल्यैदेखि १३ जना यथावत् रहेको बताए। 'हाम्रो पक्षका १३ जना यथावत् हुनुहुन्छ। एक जना उपचारका लागि दिल्लीमा रहनुभएकाले उहाँको सनाखतका लागि के गर्ने भन्ने विषयमा निर्वाचन आयोगसँग छलफल गर्छौं', उनले नेपाल लाइभसँग भने।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्न प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यहरुलाई सूचना जारी गरेको छ।
गत भदौ २ गते गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीले ९ गते आयोगबाट मान्यता पाएको थियो। त्यसै दिन आयोगले सनाखत समेत गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।