काठमाडौं– नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएलले मंगलबार २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो। मंगलबार सम्पन्न राष्ट्रिय भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ।
केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरु भने चयन गरिएको वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले बताए।
नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनीत हुनेछन। इन्चार्ज दिपशीखाका अनुसार वाइसिएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनीत गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनीत हुनेछन।
‘१० प्रतिशत पछि मनोनीत हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं। यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रिय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ’, उनले भने।
गत शनिबारबाट सुरु भएको वाइसिएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए। तर, सहमति नजुटाएरै भेला सम्पन्न भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।