मुम्बई– मास्टर ब्लास्टर सचिन तेन्दुलकारका छोरा अर्जुन तेन्दुलकर भारतको १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीमा छनोट भएका छन्। आगामी जुलाईमा श्रीलंकाविरुद्ध हुने २ वटा ४ दिवसीय खेलका लागि अर्जुन राष्ट्रिय टोलीमा परेका हुन्।
विश्व क्रिकेटमा सचिनको अग्लो छविका अघि अर्जुनको क्रिकेट यात्रा कस्तो रहला भन्ने आशंकाकाबीच उनी टिममा परेका हुन्। १६ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका बुवा सचिनभन्दा उनी पछाडि त परेका छन् तर ढिलै भए पनि १९ वर्ष मुनिको टोलीमा पर्नुलाई कतिपयले सुखद सुरुवात भएको टिप्पणी गरेका छन्। अहिले अर्जुन १८ वर्ष २ सय ५७ दिनका भए।
बुवा विश्वविख्यात भएको खेलमा नै आफ्नो भविष्य खोज्न संघर्षरत अर्जुन ब्याटिङभन्दा बलिङमा बलियो मानिन्छन्। बायाँहाते मध्यम गतिका बलर अर्जुन श्रीलंकाविरुद्धको खेलमा मध्यक्रमका ब्याट्सम्यानको भूमिकामा समेत देखिनेछन्।
अर्जुनको प्रशिक्षण
यसअघि उनी सन् २०१७ को सेप्टेम्बर ११ मा मुम्बईको अन्डर–१९ टोलीमा परेका थिए। पछिल्लो २ वर्षदेखि उनी आफ्नो बलिङमा सुधार ल्याउन पुनेका कोच तथा बायोमेकानिक्स विज्ञ अतुल गइक्वाडसँग प्रशिक्षण लिइरहेका छन्।
पूर्वभारतीय तीव्र गतिका बलर सुव्रतो बनर्जीसँग पनि उनले ‘वान अन वान’का आधारमा बलिङसम्बन्धी कोचिङ लिइरहेका छन्। बनर्जी भारतीय क्रिकेट टोलीका तीव्र गतिका बलर उमेश यादव तथा २०१७/०१८ को रञ्जी ट्रफीको विजयी टोली विदर्भाको तर्फबाट सबैभन्दा बढी विकेट लिने खेलाडी रजनिश गुर्वानीका समेत प्रशिक्षक रहिसकेका छन्।
यो पनि : सचिन तेन्दुलकर महान् बनेको बाटोमा छोरा अर्जुनको पाइला, कति सहज कति असहज?
उनले भारतका पूर्व कप्तान राहुल द्रविड तथा पूर्व भारतीय ब्याट्सम्यान डब्लुभी रमनसँग ब्याटिङको प्रशिक्षण लिँदै पछिल्लो समय आफ्नो ब्याटिङलाई थप धारिलो बनाइरहेका छन्।
छनोटका आधार
टिममा आफ्नो स्थान बनाउन अर्जुनले भारतको धर्मशालामा भएको राष्ट्रिय क्रिकेट एकेडेमीको स्थायी क्याम्पमा समेत बसेका थिए। हिमाञ्चल प्रदेशमा भएको अन्तर एकेडेमी क्रिकेट प्रतियोगितामा उनले गरेको प्रदर्शनबाट जुनियर खेलाडीहरुको छनोट गर्ने प्यानलका प्रमुख पूर्व भारतीय स्पिनर आशिष कपुर प्रभावित भएका थिए। छनोट समितिले मुम्बईको उमेर समूहमा रहेर खेल्दा अर्जुनको प्रदर्शनलाई पनि आधार बनाएको थियो।
सन् २०१७/१८ सिजनमा मुम्बईको यु–१९ टिमबाट ‘कोच बेहार ट्रफी’मा खेल्दा उनले १२ विकेट लिए। जसमा उनी २ पटकसम्म ५ विकेट लिन सफल भए।
सन् २०१७ को सेप्टेम्बरमा बरोडामा भएको ‘जेवाई लेले आमन्त्रण प्रतियोगिता’मा उनी मुम्बईको एकदिवसीय टिममा परेका थिए। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को आधिकारिक प्रतियोगिता नभए पनि यही प्रतियोगितामा उसले गरेको प्रदर्शनका आधारमा नै उनी मुम्बईको १९ वर्ष मुनिको टोलीमा छनोट हुन पुगेका हुन्।
यसै वर्षको जनवरीमा अर्जुनले अस्ट्रेलियाको एडिलेडस्थित ब्राडम्यान ओभल मैदानमा ‘क्रिकेट क्लब अफ इन्डिया–११’ का तर्फबाट खेले। सो खेलमा उनले प्रारम्भिक ब्याट्सम्यानका रुपमा २७ बलमा ४८ रन बनाउनुका साथै ४ विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका थिए।
सन् २०१७ को जुलाईमा उनले मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) को ११ खेलाडीभित्र पर्दै उनले इंग्ल्यान्डमा नामिबियाको १९ वर्ष मुनिको टिमसँग खेले। पहिलो खेलमा अर्जुन लिएको ४ विकेटको मदतमा नामिबियाको टोली मात्र ४९ रनमा सीमित भएको थियो।
उनले भारतीय राष्ट्रिय टोली विदेश भ्रमणमा जाँदा नेट बलरको रुपमा आफ्नो खेल सुधार्ने तथा अन्तराष्ट्रिय बलरहरुको सल्लाह लिने अनुभवसमेत बटुलेका थिए।
यु–१९ विश्वकपमा खेल्न उमेर तगारो
भारतको यु–१९ टोलीमा छनोट भए पनि आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा भने उनले सहभागिता जनाउने अवसर पाउनेछैनन्। सो समयसम्म उनको उमेर २० वर्ष ५ महिना नाघिसकेको हुनेछ। तर प्रशिक्षक द्रविडको प्रशिक्षण उनको बाँकी क्रिकेट भविष्यका लागि महत्वपूर्ण बन्न सक्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।