काठमाडौं– भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपाल कठिन प्रतिद्वन्द्वी रहेको बताएका छन्।
यसै साता हुने दुई मैत्रीपूर्ण खेलका लागि सोमबार काठमाडौं आइपुगेका क्षेत्रीले पहिला पनि भारतीय टोलीले नेपालविरूद्ध खेलेको स्मरण गर्दै यो खेलले साफ च्याम्पियनसिपका लागि फाइदा पुग्ने बताए।
‘कोरोना महामारीका कारण अहिले हाम्रो देशमा लिग छैन। यो खाली समयमा हामीले नेपालसँग खेल्न राम्रो तयारी पनि गरेका छौं। सतप्रतिशत जीतका लागि खेल्छौं,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने।
असन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारत भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल्दै छन्। त्यसैका लागि भारतीय फुटबल टिम आज (सोमबार) काठमाडौं आइपुगेको हो।
भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष शिक्षित पराजुलीलगायतका पदाधिकारीहरूले स्वागत गरेका थिए।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ।
भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान क्षेत्रीलगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेका हुन्।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ। जसमध्ये भारतले १३ खेलमा जीत हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन्।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिने वा नदिने भन्ने विषयमा मंगलबार सम्ममा निर्णय हुने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए।
‘एन्फाले खेलमा भ्याक्सिन लगाएका र पीसीआर टेस्टमा नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिने प्रस्ताव गरेको छ। तर, यसबिषयमा निर्णय लिन बाँकी छ,’ उनले नेपाल लाइभसँग भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।