काठमाडौं – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा दोस्रो जित हात पारेको छ। गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वल्भ्सलाई १–० ले हराएको हो।
घरेलु मैदानमा सम्पन्न खेलमा वल्भ्सले पटक पटक गोल गर्ने मौका पाएपनि फिनिसिङमा चुक्दा खेल गुमायो।
खेलको अन्त्यतिर मेसन ग्रिनवुडले गरेको गोल नै निर्णायक बन्यो। खेल सकिन १० मिनेट बाँकी रहँदा उनले राफाएल भरानको पासमा गोल गरेका थिए।
योसँगै युनाइटेडले प्रिमियर लिगमा लगातार २८ अवे खेलमा अपराजित रहँदै नयाँ कीर्तिमानसमेत बनाएको छ।
लिगको आइतबारै सम्पन्न खेलमा टोटेनहमले वाटफर्डलाई पराजित गरेको छ। वाटफर्डलाई १–० ले पराजित गर्दै टोटेनहम अंक तालिकाको पहिलो शीर्षमा पुगेको हो।
घरेलु मैदानमा टोटेनहमको जितमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक सावित भयो। सनले खेलको ४२ औं मिनेटमा बायाँ विंगबाट गरेको फ्रिकिक प्रहार सिधै गोल भएको थियो।
टोटेनहमले लिगको पहिलो खेलमा म्यानचेस्टर सिटी र दोस्रो खेलमा वल्भ्समाथि पनि १–० को जित नै दर्ता गरेको थियो टोटेनहम ३ खेलमा ९ अंक जोड्दै अंक तालिकामा २ अंकको अग्रता लिन सफल भएको छ । वाटफर्डले भने ३ खेलमा १ जितसहित ३ अंक जोडेको छ।
आइतबारकै अर्को खेलमा लिड्स युनाइटेड र बर्नली १–१ को बराबरीमा रोकिए। बर्नलीले ६१ औं मिनेटमा क्रिस वुडको गोलमा अग्रता लिएको थियो। प्याट्रिक बामफर्डले खेल सकिन ४ मिनेट बाँकी रहँदा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।