काठमाडौं- सेर्जी रोबर्टो र मेम्फिस डिपाएको गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा दोस्रो जित निकालेको छ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा गेटाफेलाई २-१ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो।
बार्सिलोनालाई जित दिलाउन रोबर्टो र डिपाएले एक एक गोल गरे। गेटाफेका सान्ड्रो रामिरेजले एक गोल फर्काए।
खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। उनले जोर्डी अल्बाको क्रसलाई गोलमा परिणत गरेका थिए।
१८औं मिनेटमा सान्ड्रोले बराबरी गोल फर्काए। बार्सिलोनाकै पूर्वखेलाडी कार्लेस अलेनाको पासमा उनले गोल गर्दै खेल बराबरीमा ल्याए।
यस्तै, ३० औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए। उनले फ्रेंकी डे जोङको पासलाई नियन्त्रणमा लिँदै गोल गरेका थिए।
दोस्रो हाफको ८२औं मिनेटमा अल्बाको क्रसमा बुस्केट्सले गोल गरेपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले त्यसलाई अफसाइड दिएका थिए।
जितसँगै बार्सिलोनाले ३ खेलबाट ७ अंक जोडेको छ। बार्सिलोना चौंथो स्थानमा रहेको छ। गेटाफे अंकविहिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।