काठमाडौं- लोक गीत क्षेत्रमा उत्तेजक र दोहोरो अर्थ लाग्ने शब्दहरुको प्रयोगका कारण समय-समयमा चर्चामा आइरहन्छिन् गायिका तथा मोडल ज्योती मगर। आफूले दिने अन्तर्वार्तामा होस् वा प्रस्तुति दिने सार्वजनिक कार्यक्रममा, उनी उत्तेजक रुपमा प्रस्तुत भइरहेकी हुन्छिन्।
तर, यस पटक भने ज्योतीको फरक अवतार देखिएको छ। ज्योतीले 'सभ्य' शब्द मात्रै नभएर भावुक किसिमको गीत सार्वजनिक गरेकी छन्।
तीज विशेषरुपमा सार्वजनिक गरिएको ज्योती नयाँ गीत ‘माइतीको माया बरिलै’मा उनी नयाँ रुपमा देखिएकी छन्। प्राय: उत्तेजक रुपमा देखिने ज्योती यसपटक भावुक र सभ्य देखिएकी छन्।
उनका अन्य गीतजस्तो यो गीतले राम्रो चर्चा पाएको छैन। युट्युबमा पनि गीतमा औसतभन्दा निकै कम (हालसम्म चार हजार) हेरिएको छ। तर, लोक गीत क्षेत्रका सर्जकमाझमा भने यो गीतले चर्चा पाएको छ। गीत मौलिक भएको लोकगायक बद्री पंगेनीले बताएका छन्।
शनिबार सार्वजनिक भएको गीतमा शब्द, संगीत र गायनसँगै ज्योतीले अभिनय पनि गरेकी छन्। गीतलाई अरेन्ज योगेश काजीले गरेका छन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ गरेका छन्।
स्मृति तिमल्सिनाले निर्देशन गरेको गीतको भिडियोमा ज्योतीसँगै रीतिका कुँवर, शेरबहादुर डीसी र गंगा मगरको अभिनय रहेको छ। भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् भने रंग संयोजन मिलन विश्वकर्माको छ।
गीत सार्वजनिक हुनुभन्दा केही दिनअघि फेसबुकमा ज्योतीले आफूले केही नयाँ प्रयास दर्शकमाझमा लिएर आउन लागेको उल्लेख गरेकी थिइन्। सोहीअनुसार उनले गाउने तथा अभिनय गर्नेभन्दा फरक ढंगको गीत सार्वजनिक गरेकी छन्।
तर, नयाँ स्वरुपमा ज्योती कति सफल हुन्छिन् भन्ने हेर्न बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।