काठमाडौं- लागुऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई दुई केजी ९६६ ग्राम कोकिनसहित पक्राउ गरेको हो।
उनीहरुबाट बरामद गरिएका लागुऔषध कोकिनको अन्दाजी मूल्य नौ करोड रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भदौ ३ गते कतार एयरवेजको उडानमार्फत् सिने टाउनबाट दोहा हुँदै काठमाडौं आएकी दक्षिण अफ्रिकी नागरिक शर्ली गामालाई कोकिन ल्याएर निकासीको तयारी गर्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। उनी कमलादीस्थित होटलबाट दुई किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन्।
उक्त कारोबारमा संलग्न अन्य दुई जनासमेत पक्राउ परेका छन्। भारत बैङ्गलोर किडाथी कर्नाटक ठेगाना भएका विजय सिंहलाई कोकिन लिन आएको अवस्थामा भदौ ८ गते कमलादीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै, सोही कारोबारमा संलग्न अर्का तान्जानियाकी नागरिक गर्टरुड लिओनार्द काइमारोलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट पक्राउ गरिएको थियो।
उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई लागुऔषध नियमन ऐन २०३३ को दफा १४. १ (७) ३ बमोजिम १५ वर्षदेखि जन्म कैद र पाँचदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने गरी कारबाही अगाडि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।