काठमाडौं- साविकको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ। घरेलु मैदान इतिहाद स्टेडियममा १० खेलाडीमा समेटिएको आर्सनललाई सिटीले ५-० ले पराजित गरेको हो।
सिटीको जितमा फेरान टोरेसले दुई तथा इल्काए गुन्डोगान, गाब्रियल जेसस र रोड्रीले १/१ गोल गरे। सिटीले खेलको सातौं मिनेटमा नै गाब्रियल जेससको क्रसमा गुन्डोगानको गोलबाट अग्रता लिएको थियो।
१२औं मिनेटमा फेरान टोरेसले सिटीको अग्रता दोब्बर पारे। ३५औं मिनेटमा ग्रानिट झाका सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भयो।
जोओ क्यान्ससेलोमाथि फल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाए। ४३औं मिनेटमा ब्राजिली गाब्रियल जेससले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए।
५३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई फराकिलो जिततर्फ लगे। टोरेसले ८४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई सानदार जित दिलाएका थिए।
जितसँगै सिटीको ३ खेलबाट ६ अंक पुगेको छ। यता, आर्सनल अंकविहिन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।