काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेसनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त संस्थाको सेयर खरिद-बिक्री गर्ने समझदारीपत्र (एमओयू)मा दुई संस्थाबीच हस्ताक्षर भएको छ।
काठमाडौंमा आयोजित एक समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेसनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले समझदारीपत्रमा हस्ताक्षर गरे। नेपाल लाइफले उक्त सेयर खरिद गरेपछि सो कम्पनीको जारी एवं चुक्ता पुँजी ३० करोड रुपैयाँ पुग्नेछ।
कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल लाइफका नायव महाप्रबन्धक अमित कयालले कम्पनीले आफ्नो लगानी बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरे। नेसनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलियो बैंकर कम्पनीको रुपमा काम गर्दै जाने बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रसाईले नेपाल लाइफ जीवन बिमा क्षेत्रमा सबैको विश्वास जितेर उत्कृष्ट ब्राण्ड रहन सफल भएको बताए। अब नेसनल मर्चेन्ट बैंकरलाई पनि नेपालको पुँजीबजारमा सफल कम्पनीको रुपमा स्थापित गरिने उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।