काठमाडौं- सानिमा बैंकले यस वर्षको लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। छात्रवृत्तिमा सहभागी हुनका लागि यही भदौ ३१ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई वहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
यही क्रममा बैंकले सन् २०१२ देखि काठमाडौं उपत्यकाबाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका दुई/दुई जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
सोही कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्षको लागि छात्रवृत्ति आवेदन खुला गरेको हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामग्रीहरुका साथै अतिरिक्त मासिक दुई हजार रुपैयाँ नगदवृत्ति सहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गरिने बैंकले जनाएको छ।
छात्रवृत्तिसम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।