काठमाडौं- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो पूर्वक्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन्।
उनका एजेन्ट जोर्ज मेन्डेसले युनाइटेडसँग सम्झौता पक्का भएको जानकारी दिएका हुन्। युनाइटेडले पनि आफ्नो वेबसाइटमार्फत् दुई क्लबबीच रोनाल्डोको ‘ट्रान्सफर’लाई लिएर सहमति भएको जनाएको छ।
अब व्यक्तिगत सम्झौता, स्वास्थ्य परिक्षण र भिसा प्रक्रियापछि रोनाल्डो औपचारिक रुपमा युनाइटेडमा अनुबन्धित हुनेछन्।यस अगाडि रोनाल्डो शहरी प्रतिद्धन्दी म्यानचेस्टर सिटीले जाने सम्भावना चलेको थियो।
तर, तलबलाई लिएर व्यक्तिगत सम्झौतामा सहमति गर्न नसकेपछि रोनाल्डोको सिटी जाने सम्भावना सकिएको थियो। दुई वर्षको अनुबन्धनका लागि ‘ट्रान्सफर’ रकम खर्चेर सिटीले रोनाल्डोको तलब दिन असमर्थता जनाएको थियो।
रोनाल्डोले युभेन्टसलाई आफू क्लब छाड्ने जानकारी दिएसँगै युनाइटेडले यसबारे चासो दिएको थियो। सिटीसँग सहमति हुन नसकेसँगै एजेन्ट मेन्डेस र युनाइटेडका प्रतिनिधिबीच छलफल भएको थियो।
युनाइटेड आफैं पनि आफ्नो पूर्वखेलाडी फर्काउन उत्साहित रहेकाले ‘ट्रान्सफर’का लागि युभेन्टसले युनाइटेडसँग ३३ मिलियन युरो माग गरेको थियो।
यसअघि शुक्रबार नै युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्साएरले रोनाल्डोसँग छलफल गरिरहेको बताएका थिए। ‘रोनाल्डो यस क्लबका लेजेन्ड हुन्। उनीसँग हामी सम्पर्कमा नै छौं। ब्रुनोले उनीबारे कुरा गरिरहेका छन्. उनी जान्दछन् कि हामी उनको बारेमा के महसुस गर्छौं,’ उनले भनेका थिए।
रोनाल्डोले सन् २००३ देखि २००९ सम्म इंग्लिस क्लब युनाइटेडबाट खेलेका थिए। त्यसपछि ९ सिजन रियल मड्रिडबाट खेलेका थिए। उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए। रियलबाट ९ सिजनमा ४३८ खेलमा ४५० गोल गरेका थिए। ०१८ पछि उनी इटालियन क्लब युभेन्टस पुगेका उनले तीन सिजन खेल्दा १३४ खेलमा १०१ गोल गरेका छन्।
उनले गत सिजन सिरी ए मा ३३ खेल खेल्दै २९ गोल गरेका थिए। यद्यपि, रोनाल्डोका लागि युभेन्टस यात्रा त्यति फलदायी देखिएको छैन। उनी क्लबमा आएपछि उनले च्याम्पियन्स लिगमा युभेन्टसलाई क्वार्टरफाइनलभन्दा माथि लैजान सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।