रसुवा– आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्र रसुवाले जिल्लाबाट लड्ने सबै उम्मेदवारको नाम टुंगो लगाएको छ। जिल्ला कार्यालय बैठकले प्रदेश र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकबाट जिल्लामा लड्ने सबै उम्मेदवारको नाम टुंगो लगाएको हो।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ वरिष्ठ उपाध्यक्ष माधव लामिछाने समिरको नाम सिफारिस गरिएको छ। यस्तै संघीय प्रतिनिधिसभाको समानुपातिक तर्फ निमावाङ्दी तामाङ, नानिमैया न्यौपाने, खुवाप्रसाद आचार्य र मनविर कामीलाई सिफारिस गरेको माओवादी रसुवाका अध्यक्ष इन्द्र गौतम जगतजङले जानकारी दिए।
त्यस्तै, प्रदेश सभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला उपाध्यक्ष पासाङ थोक्रा र क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजङलाई उम्मेदवार बनाउने बैठकले निर्णय गरेको छ।
प्रदेशसभाको समानुपातिक तर्फ तेन्जिङ छेसाङ तमाङ, चाम्सिङ लोप्चन, हितबहादुर गुरूङ, मेघबहादुर ढकाल, गिता ढकाल र भगवती न्यौपानेको नाम सिफारिस भएको छ। यसअघि प्रतिनिधिसभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा राज्य पुनःसंरचनापछि पनि एउटा मात्र निर्वाचन क्षेत्र कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।