काठमाडौं- पाँच पटकको बलोन डी‘ओर विजेता तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्टस छाड्ने निश्चित भएको छ।
इंग्लिस कल्ब म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेको बेलमा उनले युभेन्टस छाड्न लागेका हुन्। प्रशिक्षक मासिमिलियानो एलेग्रीले शुक्रबार रोनाल्डोले युभेन्टस छाड्ने निर्णय गरेको पुष्टि गरे।
युभेन्टस छाडेर इंग्लिस कल्ब म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेको बेलमा उनी प्रशिक्षण केन्द्र पुगेर ४० मिनेटमै फर्किएका थिए।
उनले सबै सहकर्मीहरुसँग बिदा मागेको बताइएको छ। गत महिना अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा ‘फ्रि ट्रान्सफर’मार्फत् २ वर्षका लागि अनुबन्ध भएपछि उनको स्थानमा टोटनह्यामबाट ह्यारी केनलाई भित्र्याउने प्रयास सिटीले गरेको थियो।
तर, केनले उक्त प्रस्ताव अस्वीकार गरेसँगै उनको स्थानमा रोनाल्डोलाई सिटीले भित्र्याउन लागेको हो। रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले पनि सिटीसँग कुरा अगाडि बढिरहेको स्वीकार गरेका छन्। यद्यपि, सिटी युभेन्टसको जवाफको पर्खाइमा रहेको छ।
युभेन्टसले कम्तीमा पनि ३० मिलियन युरोको माग गर्नसक्ने आकलन गरिएको छ। रोनाल्डो र सिटीबीच सम्झौता भएको अवस्थामा रोनाल्डो २००९ पछि प्रिमियर लिगमा फर्कनेछन्।
रोनाल्डोले सन् २००३ देखि ०९ सम्म इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट खेलेका थिए। त्यसपछि ९ सिजन रियल मड्रिडबाट खेलेका थिए।
२०१८ पछि उनी इटालियन क्लब युभेन्टस पुगेका थिए। युभेन्टससँग रोनाल्डोको एक वर्ष सम्झौता बाँकी नै छ। उनले गत सिजन सिरी ए लिगमा ३३ खेल खेल्दै २९ गोल गरेका थिए।
उनले युनाइटेडबाट २९२ खेलमा ११८ गोल गरेका थिए। रियलबाट ९ सिजनमा ४३८ खेलमा ४५० गोल गरेका थिए। युभेन्टसमा तीन सिजन खेल्दा उनले १३४ खेलमा १०१ गोल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।