काठमाडौं- नेपालविरुद्ध अर्को साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोलीको घोषणा गरिएको छ।
असन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको भारतीय टोलीले बिहीबार कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोलीको घोषणा गरेको हो।
नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुन लागेको छ। भारतले अनुभवी डिफेन्डर सन्देश झिंगनलाई भने टोलीमा समावेश गरेको छैन।
दुवै टोली साफ च्याम्पियनसिपको तयारीका क्रममा रहेका छन्। मैत्रीपूर्ण खेलपछि नेपाली टोलीअन्तिम तयारीका लागि कतार जाने तयारीमा छ। असोज १५ गतेदेखि साफ च्याम्पियनसिप खेल्न नेपाली टोली उतैबाट माल्दिभ्स जानेछ।
भारतसँगको खेल र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टोलीले अहिले पोखरामा अभ्यास गरिरहेको छ। पोखरामा तयारी गरिरहेको नेपालले दोस्रो चरणमा २८ खेलाडी छनोट गरेको थियो। टिमबाट १० खेलाडी बाहिरिएका थिए।
बन्द प्रशिक्षणबाट भरत खवास र जर्जप्रिन्स कार्कीसहित रजिन धिमाल, विशाल सुनार, रन्दीप पौडेल, राजीव लोप्चन, सञ्जोक राई, त्रिदेव गुरुङ, सेसेहाङ आङदम्बे र विक्रम लामा बाहिरिएका हुन्।
साफको पावर हाउस मानिने भारतसँगको मैत्रीपूर्ण खेललाई नेपालले महत्वका साथ हेरेको छ। भारतले १३ संस्करणमध्ये सात पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलसमेत पुग्न सकेको छैन।
भारतीय टोलीले प्रशिक्षक इगोर स्टिमाकको नेतृत्वमा कोलकतामा १५ दिन अभ्यास गरेको थियो। कोलकतामा अभ्यासका क्रममा टोलीले इन्डियन फुटबल एसोसिएसन (आइएफए ११) सँग मैत्रीपूर्ण खेल खेलेको थियो।
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ। जसमध्ये भारतले १३ खेलमा जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। ४ खेल भने बराबरीमा सकिएका छन्।
भारतले नेपालविरुद्ध हालसम्म ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ। दुई टोलीबीचको प्रतिस्पर्धामा सुनिल क्षेत्री बढी गोल गर्ने खेलाडी हुन्। उनले नेपालविरुद्ध ८ खेल खेल्दै ५ गोल गरेका छन्।
पछिल्लो पटक नेपाल र भारतबीच ६ जुन २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २-० गोलले विजयी भएको छ।
दुई टिमबीच नेपाली मैदानमा २०१५ मा प्रतिर्स्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।
२५ सदस्यीय भारतीय टोली
गोलकिपर- अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु
डिफेन्डर- प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज
मिडफिल्ड- लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर
फरवार्ड - मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।