काठमाडौं- पाँच पटकको बलोन डी‘ओर विजेता तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो युभेन्टसको प्रशिक्षणमा अनुपस्थित भएका छन्।
युभेन्टस छाडेर इंग्लिस कल्ब म्यान्चेस्टर सिटी जाने चर्चा चलिरहेको बेलमा उनी प्रशिक्षण केन्द्र पुगेर फर्किएका हुन्।
गत महिना अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो क्याटलान क्लब बार्सिलोनामा फ्रि ट्रान्सफरमार्फत् २ वर्षका लागि अनुबन्ध भएपछि उनको स्थानमा टोटनह्यामबाट ह्यारी केनलाई भित्र्याउने प्रयास सिटीले गरेको थियो। तर, केनले उक्त प्रस्ताव अस्वीकार गरेसँगै उनको स्थानमा रोनाल्डोलाई सिटीले भित्र्याउन लागेको हो। यही समय उनी प्रशिक्षण केन्द्र पुगेर ४० मिनेटमै फर्किएको बताइन्छ।
रोनाल्डोका एजेन्ट जोर्गे मेन्डिसले पनि सिटीसँग कुरा अगाडि बढिरहेको स्वीकार गरेका छन्। यद्यपि, सिटी युभेन्टसको जवाफको पर्खाइमा रहेको छ।
रोनाल्डो प्रशिक्षण केन्द्रमा आफ्ना सहकर्मीसँग बिदा माग्न पुगेको बताइन्छ। रोनाल्डोले सन् २००३ देखि ०९ सम्म इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट खेलेका थिए। त्यसपछि ९ सिजन रियल मड्रिडबाट खेलेका थिए।
२०१८ पछि उनी इटालियन क्लब युभेन्टस पुगेका थिए। युभेन्टससँग रोनाल्डोको एक वर्ष सम्झौता बाँकी नै छ। उनले गत सिजन सिरी ए लिगमा ३३ खेल खेल्दै २९ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।