काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ मोटरसाइकलहरू फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ।
हस्तान्तरण गरिएका २४ मध्ये २० वटा मोटरसाइकल र चार वटा स्कुटर रहेका छन्। महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज ती मोटरसाइकल जिम्मा लगाएका हुन्।
महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका, पुतलीसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगञ्ज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोलढुंगा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बूढानीलकण्ठ लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ।
हस्तान्तरण कार्यक्रममा एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको इलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताए। चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाएको र अन्य मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको उनले बताए। सवारीसाधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको एसएसपी भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।