काठमाडौं- नबिल बैंकले काभ्रे जिल्लाको पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तार गर्ने कार्यमा सहकार्य गर्ने भएको छ। यसका लागि बैंकले दुई पालिकासँग सम्झौता गरेको छ।
पनौती नगरपालिकामा नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका मेयर भीम न्यौपानेले साझेदारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे। यस्तै, पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
उक्त साझेदारीमार्फत् नगरपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ।
कार्यक्रममा बोल्दै नायव प्रमुख कार्यकारी अधिकृत शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने विश्वास व्यक्त गरे। अबको एक वर्षमा सफलताका कथाहरु सुन्न आतुर भएको उनले बताए। पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।