काठमाडौं- ‘मेगा म्युचुअल फण्ड-१’मा माग गरिएभन्दा २.३७ गुणा बढी आवेदन परेको छ। मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने उक्त बन्दमुखी योजनामा एक लाख ६३ हजार ६४६ आवेदकहरूबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको एकाइ खरिदका लागि आवेदन परेको फण्ड व्यवस्थापक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएको छ।
नेपालको वित्तीय इतिहासमा म्युचुअल फण्डमा हालसम्मकै सबैभन्दा धेरै आवेदन ‘मेगा म्युचुअल फण्ड-१’मा प्राप्त भएको कम्पनीको दाबी छ।
प्रतिएकाइ १० रूपैयाँ दरको १० करोड एकाइमध्ये न्यूनतम एक करोड ५० लाख वा कूल बिक्री भएको एकाइ संख्याको न्यूनतम १५ प्रतिशत एकाइ कोष प्रवर्द्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखेर बाँकी न्यूनतम आठ करोड ५० लाख एकाइ सार्वजनिक निष्काशन गरिएको थियो। सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन प्राप्त भएको मेगा क्यापिटलले जनाएको छ। ‘चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताको उल्लेखनीय सहभागितास्वरुप एक लाख ६३ हजार ६४६ आवेदकहरूबाट २० करोड १४ लाख ५५ हजार ६०० बराबरको एकाइ खरिदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २.३७ गुणा बढी हो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मागभन्दा धेरै बढी एकाइका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कूल आकारको २५ प्रतिशत थप गरी एकाइ बाँडफाँट गरिने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।