काठमाडौं– जिल्ला अदालत धनुषाले श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका सञ्जयकुमार साहलाई १० वर्ष कैद गर्ने फैसला सुनाएको छ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले बिहीबार फैसला १० वर्ष कैद गर्ने फैसला सुनाएको हो।
साउन २५ गते जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको थियो। ३० कात्तिक २०७७ मा जनकपुरधाम ७ पेठियाका साहले श्रीमती आरती साह र ४ वर्षीया छोरी रियालाई एसिड प्रहार गरेका थिए।
एसिड प्रहार लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको थियो। जिल्ला अदालतले श्रीमानलाई सुरुमै पुर्पक्षका लागि थुनामा राखेको थियो।
एसिड प्रहारबाट साहकी २१ वर्षीया श्रीमती आरती र ४ वर्षीया छोरी रिया घाइते भएका थिए। आरतीलाई लक्षित गरेर प्रहार गरिएको एसिड उछिट्टिएर छोरी रिया साहको बायाँ हात पनि जलेको थियो।
छुट्टै बसेका श्रीमती र छोरीलाई उनीहरुको डेरामा पुगेर साहले एसिड प्रहार गरेका थिए। प्रहरीले उनलाई पक्राउ गरि मुद्दा चलाएको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले एसिड प्रहार गरि अङ्गभङ्ग बनाएको आरोपमा २०७७ कात्तिक २४ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालयले दुवै जनालाई जनही अधिकतम सजाय र कैदको माग गरेको थियो।
श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकि काठमाडौं ल्याएर उपचार गरिएको थियो। आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो। एसिडले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको थियो। छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचारपछि डिस्चार्ज गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।