काठमाडौँ– लैंगिकमैत्री नीतिसहित विपद् व्यवस्थापन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।
सञ्चारिका समूहले काठमाडौंमा आयोजना गरेको ‘विपद् जोखिम व्यवस्थापनमा लैंगिक नीति’ कार्यक्रममा सहभागी वक्ताहरूले विपद्मा बढी प्रभावित हुने महिला, बालबालिकाको समस्या सम्बोधनका लागि लैंगिक नीतिको आवश्यकता औंल्याएका हुन्।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले आगलागी, बाढी, पहिरो, भूकम्प र चट्याङलगायतका विपद्बाट बढी जोखिमपूर्ण अवस्थामा रहेको नेपालमा महिला, बालबालिका र अपाङ्गता भएका व्यक्ति धेरै प्रभावित हुने बताए।
उनले विपद्बाट बच्न पूर्वतयारीका लागि बनाउने कार्ययोजनामा लैंगिकमैत्री नीति वा व्यवस्थाका लागि सहमति जनाउँदै भाषागत भिन्नता, क्षेत्रगत र सबै वर्गले बुझ्ने भाषा, शैली र माध्यमबाट सञ्चार हुनुपर्नेमा पनि जोड दिए।
पोखरेलले मेलम्चीमा आएको बाढी तथा प्रकोपको मुख्य कारण जलवायु परिवर्तनकै असर भएको बताए। उनले भने, ‘हिमाल, पहाड र तराई भेग रहेको नेपालमा विपद्को प्रकार पनि भुगोल अनुसार फरक हुन सक्ने सम्भावनाको अध्ययनसहित विपद् जोखिम व्यवस्थापनका कार्यक्रम लागु हुुनुपर्छ।’
विपद् जोखिम व्यवस्थापनका विज्ञ बालानन्द शर्माले बाढी, पहिरो, चट्याङ, भूकम्प जस्तै कोरोना महामारी झेलिरहेको नेपालमा राज्यको तर्फबाट व्यवस्थापन फितलो देखिएको बताए। उनले कोरोना भाइरसबाट जोगिन पटक–पटक लागु गरेको बन्दाबन्धी, निषेधाज्ञा, स्मार्ट लकडाउनको बेला नागरिकको रोजगारी, खाना, स्वस्थ रहन पाउनुपर्ने हकका लागि खासै पहल नभएको उल्लेख गरे।
कार्यपत्र प्रस्तुत गर्दै पत्रकार आरती चटौतले जुनसुकै विपद्मा बढीजसो महिला नै पीडित हुने कारणले लैंगिकमैत्री नीतिसहितको विपद् व्यवस्थापन कार्यक्रम आवश्यक रहेको बताइन्। कोरोना महामारीको समयमा महिला घरभित्रै रहेको अवस्थामा पनि घरमा पुरूष सदस्यबाट धेरै हिंसा खेप्नुपरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सर्वेक्षणले पुष्टि गरेको उनको भनाई थियो।
महिला क्वारेन्टिनमा बस्दा बलात्कारका घटना भएको र भूकम्पका बेला घरबाहिर टेन्टमा बसेको बेला पनि यौन हिंसाको शिकार भएका घटनाले विपद् व्यवस्थापनमा महिला, यौनिक अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्तिको आवश्यकताको सम्वोधनका लागि विशेष नीति नै आवश्यक हुने उनले उल्लेख गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।