काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टोलीमा अनुभवीका साथै युवा खेलाडीको समिश्रण रहेकाले अर्को महिना उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप २०२२ मा छनोट हुने आशा व्यक्त गरेका छन्।
विगत तीन सातादेखि बन्द प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गरिएको छ। यसपटक प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रशिक्षक फिलिप्सले दैनिक प्रगति विवरण राम्रो रहेकोले पनि नतिजा सुखद् आउनेमा आफू आशावादी रहेको बताए।
‘हाम्रो लक्ष्य एसिया कपमा छनोट हुनु हो। हामीसँग युवा र अनुभवी गरी समिश्रित टिम छ। हामीले प्रारम्भिक छनोटको क्रममा फिटनेसनमा ध्यान दिएका थियौं,’ उनले भने, ‘टोलीमा पहिलोपटक स्थान बनाएका खेलाडीले विशेष उर्जा ल्याएका छन्। खेलाडीहरु उत्कृष्ट प्रदर्शन गर्न आतुर छन्।’
नेपाली टिम एसियन कपका लागि उज्वेकिस्तानमा आयोजना हुने छनोट प्रतियोगितामा समूह ‘एफ’ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। नेपालले २ असोजमा फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ।
यस्तै, नेपालले दोस्रो खेलमा ५ असोजमा हङकङको सामना गर्नेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।
प्रशिक्षक फिलिप्सले यो प्रतियोगिता नेपाली महिला फुटबल टोलीका लागि चुनौतीसँगै विशेष अवसर रहेको बताए।
‘३५ खेलाडीबाट अन्तिम २३ खेलाडी छनोट गर्नुपर्दा निक्कै कठिन थियो। यद्यपि छानिएका सबै खेलाडी क्षमतावान छन्। म हाम्रो टिमबाट खुशी छु,’ उनले भने, ‘कप्तान रेणुका नगरकोटी लगातय अन्य सिनियर खेलाडीलाई आफ्नो क्षमता प्रमाणित गर्ने अन्तिम अवसर रहेको छ। अनुभवी स्ट्राइकर सावित्रा भण्डारीको अनुपस्थितीले टोली निराशा भैहाल्न पर्छ जस्तो लाग्दैन।’
यद्यपि, नेपाली टोलीलाई उज्वेकिस्तानको मौसमले भने चुनौती दिने उनले बताए।
‘फिलिपिन्ससँगको हाम्रो खेल दिउँसोको ३ बजे छ। तर, उज्वेकिस्तानको मौसम (तापक्रम) ३६ डिग्रीसम्म छ। खेल समय ६ वा ७ बजे सुरु भएको भए खेलाडीहरुलाई राहत मिल्थ्यो,’ उनले भने।
उनले उज्वेकिस्तान प्रस्थान गर्नु अघि धेरै भन्दा धेरै अभ्यास खेल खेल्न पाए टोलीको प्रदर्शनमा थप सुधार आउने बताए ।
‘एसियन कप छनोट २०२२ हाम्रा लागि आफ्नो क्षमता प्रमाणित गर्ने सुनौलो अवसर हो। त्यसैले मेहिनेतमा कुनै कसर छाड्न मिल्दैन। बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तय भइसकेको छ। भारतले पनि नेपालसँग मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको छ। एक–दुई दिनमै भारतविरुद्धको मैत्रीपूर्ण खेलका बारेमा निर्णय हुनेछ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।