काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिको प्रतिवेदनप्रति असन्तुष्ट देखिएका राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल छाड्ने चेतावनी दिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अल्मुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थिए। सो समितिले बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा नेम्वाङलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै प्रशिक्षक अल्मुताइरीले एन्फालाई ‘आफू स्वदेश फिर्ता हुन लागेको’ जानकारी दिएका हुन्।
‘उहाँले पहिल्यैदेखि आफूमाथि राजनीतिक हस्तक्षेप हुन लागेको भन्दै पंकजजीलाई कारबाही नगरे नेपाल छाड्ने चेतावनी दिनुभएको थियो। पंकजजीकै पक्षमा प्रतिवेदन आएपछि उहाँले नेपाल नबस्ने जानकारी दिनुभएको छ। यस विषयमा छिट्टै बैठक बस्दै छौं,’ एन्फा उच्च स्रोतले भन्यो।
यता, प्रशिक्षक अल्मुताइरीले पनि सामाजिक सञ्जालमार्फत् आफू नेपाल नबस्ने संकेत दिसकेका छन्। उनले लेखेका छन्–‘आई एम आउट लेट पोलिटिक्स वर्क।’
यद्यपि, यस विषयमा प्रशिक्षकसँग अन्तिम पटक वार्ता गरिने ती पदाधिकारीले जानकारी दिए। ‘उहाँले ९५ प्रतिशत आफू नेपालमा नबस्ने जानकारी दिइसक्नुभएको छ। उहाँलाई राख्न अन्तिम पटक प्रयास गर्ने छौं,’ उनले भने।
प्रशिक्षक अलमुताइरीले गत ८ साउनमा ‘आफ्नो इज्जतमा दाग लगाउने किसिमले’ दुई पत्रकारले समाचार प्रकाशित गरेको आरोप लगाएका छन्। यसमा एन्फाका वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारी लागेको उनले आरोप छ।
आफूविरुद्ध लेखिएको समाचारमा वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित उनकै खेमाका एन्फा पूर्वअध्यक्ष गणेश थापा, उपाध्यक्षद्वय कृष्ण थापा र वीरबहादुर खड्काले लाइक र कमेन्ट गरेकोप्रति उनको असन्तुष्टि छ।
घटनाको यथार्थबारे छानबिन गर्न र आफूमाथि कारबाही गर्न उनीहरुले उठाएको मागबारे पनि अलमुताइरीले असन्तुष्टि पोखिरहेका छन्। प्रशिक्षक अल्मुताइरीले एन्फाकै आग्रहअनुसार आफूले राजीनामा पनि स्थगित गरेको बताएका छन्।
तर, १० अगस्ट २०२१ सम्म आफ्नो माग पूरा नभए राजीनामाको प्रक्रिया पूरा गरेर नेपाल छाड्ने उनले बताएका थिए।
यसका साथै, फिफा र एएफसीको छानबिन समितिमा आफूले दर्ता गराएको निवेदन र उपलब्ध गराएको सबुत प्रस्तुत गर्नुपर्ने उनको माग छ। यस्तै, उक्त घटनाबारे सरकारी निकायबाट छानबिन हुनुपर्ने र उक्त रिपोर्ट सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।