काठमाडौं– फोहोर टिप्ने बहानामा काठमाडौं उपत्यकाका विभिन्न घरहरुमा लुटपाट (चोरी) गर्ने १ जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यकाको बिभिन्न स्थानमा घर, कारखाना तथा बाटोमा फालिएका कार्टुनका टुक्राहरु लगायतका अन्य फोहोरमैला समेत उठाउने भेष बनाई ताला लगाइ राखेका तथा सुनसान घरहरुबाट नगद, ल्यापटप, मोबाइल तथा बिभिन्न सुन-चाँदीका गर-गहनाहरु चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–८ रातोखोला घर भइ ललितपुरको बालकुमारी बस्ने ३० वर्षीय झोक्की भनिने कुमार तोलाङ्गे छन्। तोलाङ्गेलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।
महाशाखाका अनुसार तोलाङ्गे गत जेठ १ गतेको राति भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ लोकन्थलीको बुढाथोकीगाउँस्थित नरेन्द्रराज सिजापतीको घरबाट एमआई नोटबूक, नोकिया मोबाइल सेट र नगद २७ हजार रुपैयाँ लुटपाट भएको घटनामा संलग्न रहेका पाइएको छ।
चोरीको घटनाको अनुसन्धानकै क्रममा तोलाङ्गेको पहिचान भए पनि प्रहरीले झन्डै ३ महिनापछि मंगलबार काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानको क्रममा तोलाङ्गे यसअघि पनि बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भइ २०७५ सालतिर छुटेको पनि खुलेको छ।
प्रहरीले उनको साथबाट चोरी गरिएका ल्यापटप २ थान र मोबाइल २ थान बरामद भएको जनाएको छ।
पक्राउ परेका तोलाङ्गेमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त ठिमी भक्तपुरमा पठाइएको अपराध महाशाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।