काठमाडाैं– पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युवा फरवार्ड केलियन एमबाप्पेलाई बेच्ने मनसाय नरहेको प्रष्ट पारेको छ।
एमबाप्पेका लागि स्पेनिस क्लब रियल मड्रिडले मंगलबार पीएसजीसामु १ सय ६० मिलियन युरोको औपचारिक प्रस्ताव राखेको थियो। तर, पीएसजीले उक्त प्रस्ताव अस्वीकार गरेको छ।
यो सिजनको समर ट्रान्सफर ३१ अगस्टको मध्यरातसँगै सकिँदै छ। यस अगाडि सम्झौताको अन्तिम वर्षमा रहेका एमबाप्पेसँग सम्झौता हुनेमा रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टी आशावादी छन्।
रियलमा गत मे महिनादेखि कसैले पनि एमबाप्पे ल्याउनेबारे विरोध जनाएका छैनन्। तर, पीएसजी एमबाप्पेसँग नयाँ सम्झौताका लागि प्रयासरत छ। तर, एमबाप्पेले पीएसजीमै रहने इच्छा देखाएका छैनन्।
एमबाप्पेले यो नयाँ सिजनमा पीएसजीबाट ३ खेल खेल्दै एक गोल गरिसकेका छन्। उनले पीएसजीका लागि ५ सिजनमा १७४ खेलमा १३३ गोल गरेका छन्।
उनले ३ लिग वान, ३ कप दि फ्रान्स, २ कप दि ला लिग र २ ट्रफी डेस च्याम्पियन जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।