काठमाडौं– प्रहरीले ८५ लाख ५६ हजार रुपैयाँसहित काठमाडौंबाट ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना रेमिटेन्स सेवा प्रदान गर्ने कम्पनीका सञ्चालक समेत छन्।
प्रहरीले सुरुमा मंगलबार दिउँसो खिचापोखरीमा झोला बोकेर हिँडिरहेका १ जना संकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो।
खिचापोखरीबाट पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका–२ घर भइ काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्ष्मण पौडेले थिए। पौडेललाई पक्राउ गरी महानगरीय प्रहरी बृत्त जनसेवा ल्याएर तलासी गर्दा उनको झोलामा ३१ लाख रुपैयाँ नगद फेला परेको थियो।
सोधपुछका क्रममा पौडेलले उक्त पैसा आफूलाई रिन्कु भनिने अभिशेष अग्रवालले दिएको बताएपछि प्रहरीले उनको खोजी गरेको थियो।
प्रहरीले रिन्कु भनिने अभिशेष अग्रवाललाई काठमाडौंको फसिकेवस्थित उनको होलिडे ट्रेडिङ प्रालि नामक रमेटिन्स सेवा प्रदान गर्ने कम्पनीको कार्यालयबाट ५४ लाख ५६ हजार नगदसहित पक्राउ गरेको हो।
प्रहरीले होलिडे ट्रेडिङ प्रालिका कामदार मधुसुदन खड्कालाई समेत पक्राउ गरेको छ।
उनीहरुको साथबाट बरामद गरिएको रकम समानान्तर बैंकिङ कारोबार (हुण्डी)को हुनसक्ने भएकाले महानगरीय प्रहरी बृत्त जनसेवाबाट थप अनुसन्धान थलिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमार बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।